|

काठमाडौं :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  स्थायी कमिटी बैठक बोलाएका छन्।  आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको हो।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ। 

१० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो। स्थायी कमिटी बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ। प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अझ कटुता बढेको छ। 

अध्यक्ष ओली आफू हटाएर नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने वरिष्ठ नेता नेपालले खेलेको भूमिका प्रति क्रुर छन्। उनले बालुवाटार छोडेर बालकोटस्थित आफ्नो निवास पुगेर नेपालसँग मिल्न नसकिने अभिव्यक्ति दिएका थिए। यता वरिष्ठ नेता नेपाल कांग्रेससहित गठबन्धनमा सक्रिय नै छन्।

बिहीबारको सत्ताधारी गठबन्धनको बैठकमा आफू नगए पनि नेपालले डाक्टर विजय पौडेललाई पठाएर सहभागिता जनाएका छन्। बुधबार मात्रै नेपाल निवासमा प्रधानमन्त्री देउवाबीच सत्ता गठबन्धनलगायतका विषयमा छलफल भएको थियो।  

१० बुँदे सहमति भइसक्दा पनि ओली र नेपालबीच कटुता अझ बढ्दै गएपछि विभाजनलाई रोक्न दोस्रो तहका नेता पुनः सक्रिय भएका छन्।  बिहीबार उनीहरूकोे अनौपचारिक बैठक बसेको थियो। यो बैठकले नै स्थायी कमिटी बैठक बोलाएर एकता जोगाउनु पर्ने दबाब दिएपछि शुक्रबारलाई स्थायी कमिटीको बैठक बोलाइएको हो।

कार्यदलमा रहेका दुवै पक्षको आग्रहमा स्थायी कमिटीको बैठक बोलाइए तापनि माधव पक्षबाट भने बैठकमा जाने नजाने औपचारिक रूपमा जानकारी गराएका छैनन्। बैठकमा दुवै पक्षका नेता, नेकपा एकताका क्रममा थपिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापाका साथै रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त समेतलाई बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.