|

जनकपुरधाम : महोत्तरीको बर्दिबासस्थित पिपुल्स बच तथा ऋण सहकारी संस्था दुई वर्षदेखि बन्द र सञ्चालक सम्पर्कविहीन भएका छन्। सहकारी बन्द र सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्तामा समस्यामा परेका छन्।

‘भोलिको दुःखको साथी हुने आशमा बचत ग¥यौं भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ,’ बर्दिबासमा सानो ब्यापार गर्दै त्यसबाट भएको कमाइमा घरखर्च कटौती गरेर बचत गर्दै आएका रामकुमार श्रेष्ठले भने, ‘हामी ठगिएछौं,  दुई लाख रुपैयाँ बचत फिर्ता पाउनुपर्ने छ, दुई वर्षदेखि आफ्नै रकम खोज्दै हैरान छौं।’

श्रेष्ठजस्ता सयौं बचतकर्ता अहिले आफ्नो रकम खोजी गरी दिन बर्दिबास सहकारी सञ्जाल, बर्दिबास नगरपालिकाको सहकारी शाखा र अरु विभिन्न निकायमा दौडी रहेका भेटिन्छन्। सहकारीको कार्यालय दुई वर्षदेखि बन्द छ। सञ्चालक बर्दिबास–१ कै बासिन्दा नीरकमल कार्की सम्पर्कविहीन हुँदा बचतकर्ता मात्र नभई बचत संकलकर्ता पनि अप्ठ्यारोमा परेका छन्। २०७६ चैतदेखि संस्था र सञ्चालक सम्पर्कविहीन भएको सोही संस्थामा बचत संकलनकर्ता जानुकाकुमारी तामाङले बताइन्।

‘दैनिक बचत रकम संकलन गर्न त हामी संकलक पुग्थ्यौं,’ तामाङले भनिन्, ‘त्यसैले बचतकर्ताको पहिलो भनाइको चोट हामीले खेप्नुपर्छ।’ आफूले संकलन गरेको नै करिब ५० लाख रुपैयाँ बचत फिर्ता दिन बाँकी रहेको उनको भनाइ छ।

पछिल्लो पटक संस्था र सञ्चालक दुवै नभेटेपछि बचतकर्ता हारगुहार माग्दै  बर्दिबास नगर कार्यपालिकाको कार्यालय र बर्दिबास सहकारी सञ्जाल पुगेपछि यो घटना सार्वजनिक भएको हो। सहकारी संस्थाले २०७४ देखि कारोबार सुरु गरेर २०७६ चैतदेखि सम्पर्क तोडेको बचतकर्ता र बचत संकलकहरु बताउँछन्।

नगर कार्यपालिकाको कार्यालयको सहकारी शाखा र बर्दिबास सहकारी सञ्जाल दुवैले समन्वयको प्रयत्न गरे पनि संस्था सञ्चालक कार्की बचतकर्ताको रकम दिन आनाकानी गरी रहेका छन्। ‘बचतकर्ता र बचत संकलकको गुनासो बुझ्न सञ्चालक कार्कीसँग सम्पर्क गरियो,’ बर्दिबास सहकारी सञ्जालका अध्यक्ष शंकर श्रेष्ठले भने, ‘उनले पटकपटक बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएर पनि फिर्ताभने गरेका छैनन्।’

पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्था सञ्जालमा आवद्ध नभएको र आफ्नो संस्था न्यायिक निरुपण गर्ने नभएको हुँदा नगरपालिका कार्यालय जान बचतकर्तालाई सुझाएको श्रेष्ठको भनाइ छ।

नगर कार्यपालिका कार्यालयको सामाजिक विकास शाखाले दुई÷तीन पटक सञ्चालक कार्कीलाई खोजेर समन्वयात्मक छलफल चलाए पनि समाधान भने नभएको सो शाखाकी समन्वयकर्ता प्रेमा कार्कीले बताइन्। कार्कीले भनिन्, ‘हामीसँगको छलफलमा सञ्चालक कार्कीले बचतकर्ताको रकम दिनुपर्ने स्वीकार त गरे तर रकम फिर्ता गर्न उनले लिएका समय बराबर फेल भए।’

बचतकर्ताको रकम कार्यालयबाट गोलमाल भएको स्वीकार्ने सञ्चालक कार्कीले उक्त रकम फिर्ता गर्न सहमति जनाए पनि रकमको जोहो हुन नसकेको भन्दै समय लम्ब्याउने गरेका प्रेमाको भनाइ छ।

आफ्नो पासबुकसहितका कागजात सबै संस्थाको कार्यालयमा बुझाएको र अब आफूहरुसँग कुनै प्रमाण नरहेको हुँदा बचतकर्ताहरु बचत फिर्ता पाउनेमा अन्योलमा छन्।

यसैबीच नगर कार्यपालिकाको कार्यालयको सामाजिक विकास शाखाले संस्था सञ्चालक कार्कीलाई तीन दिनभित्र बचतकर्ताको सबै हरहिसाब पेश गरेर रकम फिर्ता नगरे कारवाहीका स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई पत्र काटिने जनाएको छ। संस्थाले हरहिसाब नै नदेखाएपछि कति रकम फिर्ता गर्नुपर्ने यकिन नभए पनि बचतकर्ता र संकलकहरुको भनाइबाट एक करोड ५० लाखभन्दा बढी बचतकर्ताको रकम हिनामिना भएको अनुमान गरिएको शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.