|

काठमाडौं : नेपाल पत्रकार महासंघले विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ।

महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बिहीबार काठमाडौंमा बसेको बैठकले श्रमजीवी पत्रकारको श्रम समस्यालगायतका विषयमा छलफल गर्दै उक्त आग्रह गर्ने निर्णय गरेको हो।

‘नागरिक दैनिकलगायत विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘महासंघको आग्रहलाई बेवास्ता गरेमा श्रमजीवी पत्रकारका पक्षमा सम्बन्धित सञ्चार गृहमा दबाबमूलक संघर्षका कार्यक्रम अगाडि बढाउने निणर्य गरिएको छ।’

यस्तै महासंघले संघ, प्रदेश तथा स्थानीय तहले बनाइसकेका तथा बनाउँदै गरेका सञ्चारसम्बन्धी विभिन्न कानुनहरुलाई गम्भीररूपमा लिएको जनाएको छ। उक्त कानुन निर्माण गर्दा महासंघको सहमतिसहित मिडियामैत्री कानुन निर्माण गर्न माग गर्दै बैठकले महासंघको सहमतिबिना ल्याइएको कानुनको अवज्ञासमेत गर्ने निर्णय गरेको छ।

यस्तै कोरोना संक्रमणका कारण पत्रकार तथा स्वरोजगारमूलक मिडियाहरु बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीररूपमा लिँदै महासंघले पत्रकार र स्वरोजगारमूलक मिडियाहरुको उत्थानका लागि विशेष बजेट प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

कोभिड संक्रमणको तेस्रो लहरको सम्भावित खतराले सञ्चार क्षेत्र र सञ्चारकर्मीमाथि पार्नसक्ने प्रभावको मूल्याङ्कन गरी आवश्यक तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ।

साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन वापत प्रदान गरिँदै आएको रकममा थप ५० प्रतिशत वृद्धि गर्न र यसअघि प्रदान गरिँदै आएको रकमबाट १० प्रतिशत कल्याणकारी कोषमा जम्मा गर्ने भनी काटिएकोमा उक्त रकम नकाट्न पनि महासंघले आग्रह गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत नेपाल पत्रकार महासंघलगायत सञ्चार क्षेत्रका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा गम्भीर हुन बैठकले सरकारको ध्यानाकर्षण पनि गराएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.