|

धनगढी :  महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न बिहीबार घटनास्थल गएको टोली फर्किएको छ।

भारतीय बाटो हुँदै गस्कु–मालघाट गएको छानबिन समितिको टोली बिहीबारै जिल्ला सदरमुकाम खलंगा फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्। 

गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोलीले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति बुझेर फर्किएको सहायक प्रजिअ जोशीले बताइन्। समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीका सम्बन्धमा पनि जानकारी लिएको बताइएको छ।

छानबिन समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।

छानबिन टोलीबाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्ट पनि घटनास्थलतर्फ गएको सहायक प्रजिअ जोशीले बताइन्। 

टोलीसँगै एसएसबी पनि घटनास्थलमा 

उक्त टोलीसँग भारतको डिडीहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी घटनास्थल गस्कुतर्फ गएको थियो । टोलीले सहजीकरणका लागि भन्दै एसएसबीका अधिकारीलाई लगेको सहायक प्रजिअ जोशीले बताइन्। 

तर उक्त टोलीमा पत्रकार भने समावेश थिएनन्। गत साउन १५ गते व्याँस गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। 

भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न गठन भएको छानबिन समिति दार्चुला पुगेको हो। बेपत्ता धामी अझै फेला परेका छैनन्।

घटनास्थलमा नाराबाजी

छानबिन गर्न भारतको बाटो भएर गएको गृह मन्त्रालयको टोलीविरुद्ध घटनास्थलमा नाराबाजी गरिएको छ।

पीडित पक्षसँग भेटघाट समेत नगरेर भारतीय भूमिबाट घटनास्थल पुगेकाले स्थानीय र नेकपा विप्लवको ३०/३५ जनाको टोलीले घटनास्थलमै गएर नाराबाजी गरेका हुन्। भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेका बेला नेपाली छानबिन टोली भारतको बाटो भएर गएको भन्दै घटनास्थलको नेपाल तर्फको महाकाली नदी किनारमा नाराबाजी गरेको अखिल क्रान्तिकारी विद्यार्थी युनियन दार्चुलाका अध्यक्ष भुवन जोशीले जानकारी दिइन्।

महाकाली वारि नेपाली भूमिमा प्रदर्शन गरिएको थियो भने पारिपट्टि टोलीले स्थलगत निरीक्षण गरिरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.