|

काठमाडौं : बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीले भोग्नुपरेको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन्।

'नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन'ले विदेशी भूमिमा अध्ययन गरिरहेका एवं अध्यापन गर्न आउने नेपाली विद्यार्थीहरुले भोग्नु पर्ने केही समस्याको बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे।

एशोसियसनका अध्यक्ष नवीन यादवले कोरोनाको विषम परिस्थितिमा पनि केही कलेजहरुमा परीक्षा एवं इन्टर्नशिपका लागि नेपाली विद्यार्थीहरूलाई सम्बन्धित कलेजले बाेलाएको २४ घण्टाभित्रको नेगेटिभ पिसिआर रिपोर्ट लिएर गएकाहरु पनि अनिवार्य 'होटल क्वारेन्टाइन' मा बस्नु पर्ने अवस्था रहेकोले सम्बन्धित कलेजकै 'होस्टेल क्वारेन्टाइन' को व्यवस्थापनका निम्ति पहल गरिदिन आग्रह गरेको जानकारी दिए।

हाल बंगलादेशमा करिब ५ हजार नेपाली विद्यार्थीले चिकित्सा विषय पढिरहेका छन्। विद्यार्थीलाई कुनै न कुनै समस्या परिरहेको भन्दै ध्यानाकर्षण पत्रमा विभिन्न सात वटा बुँदामा समेटिएको उनले बताए।

जसमा भ्याक्सिन लगाउन नपाएका र बंगलादेशमा रहेका नेपाली विधार्थीलाई यथाशिघ्र भ्याक्सिनको व्यवस्थापनका निम्ति आवश्यक पहल गरिदिनुपर्ने, पिजि अध्ययनरत चिकित्सहरुको उचित मुल्यांकन गरि अन्य देशको नागरिक सरह 'स्टेपहाइण्ड' को व्यवस्थाको लागि आवश्यक पहल गरिदिन लगायतका विषय उल्लेख भएको यादवले जानकारी दिए।

प्रधानमन्त्री देउवालाई भेटका क्रममा नेपाली विद्यार्थीहरु भर्ना गर्न कलेजको पूर्वाधार, हस्पिटल, कलेजको वार्षिक नतिजा, कलेजको छात्राबासको सुविधा आदिबारे अध्ययन नै नगरी नेपाली विद्यार्थी भर्ना लिन स्वीकृति दिनुले विद्यार्थीहरु समस्यामा पर्ने गरेको विषयलाई ध्यानाकर्षण गराएको यादवले जानकारी दिए।

'बंगलादेश सरकारले नेपाली विद्यार्थीका निम्ति कुन संकायमा कति छात्रवृति उपलब्ध गराइरहेका छन्‌, छात्रवृति पाउने प्रक्रिया र मापदण्ड के कस्तो छ? भन्ने बारे सम्बन्धित निकायले वैज्ञानिक व्यवस्थापन नगरेका कारण केही कन्सल्टेन्सी एवं विचौलियाहरुबाट सोझा नेपाली विद्यार्थी ठगिने अनि अन्यायमा पर्ने क्रम जारी रहेको विषयको बारेमा पनि प्रधानमन्त्री देउवालाई अवगत गराएका छौं', यादवले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.