|

काठमाडौंः : भारत र इंग्ल्याण्डबीचको पाँच म्याच टेस्टको सिरिजअन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। पाँचौं तथा अन्तिम दिन वर्षाको कारण खेल हुन सकेको थिएन।

पाँचौं दिनको खेल लगातार भारी वर्षाका कारण एक बल पनि सम्भव नहुँदा खेलको नतिजा आउन सकेन। भारत जितबाट १ सय ५७ रन टाढा रहेको थियो। उससँग ९ विकेट पनि बाँकी थियो। शनिबार दिनको खेल समाप्त हुँदा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको थियो।

रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ रनमा अविजित थिए। केएल राहुल ३८ बलमा ६ चौकासहित २६ रनमा क्याच आउट भएका थिए। राहुललाई स्टुअर्ट ब्रोडले जस बटलरबाट क्याच गराएका थिए।

भारतले जितका लागि २ सय ९ रनको लक्ष्य पाएको थियो।

यसअघि इंग्ल्याण्ड आफ्नो दोस्रो इनिङ्समा ३ सय ३ रन बनाएर अलआउट भएको थियो। उसका लागि कप्तान जो रुटले शतकीय पारी खेले। उनले १७२ बलमा १४ चौकासहित १०९ रन बनाए।

यस्तै साम करनले ३२, जोनी बेयरिस्टोले ३०, डोम सिब्लीले २८, डान लरेन्सले २४, रोरी बर्न्सले १८, जोस बटलरले १७ र ओली रोबिन्सनले १५ रनको योगदान दिए।

बलिङमा जसप्रित बुमराहले शानदार बलिङ गरे। उनले १९ ओभरमा ६४ रन खर्चिएर ५ विकेट लिए। यसक्रममा उनले २ ओभर मेडन राखे। यस्तै, मोहम्मद सिराज र शार्दुल ठाकुरले २–२ विकेट लिँदा मोहम्मद शामीले १ विकेट हात पारे।

त्यसअघि पहिलो इनिङ्समा भारत २ सय ७८ रनमा अलआउट भएको थियो। उसका लागि केएल राहुल र रवीन्द्र जडेजाले अर्धशतकीय पारी खेले। राहुलले २ सय १४ बलमा १२ चौकासहित ८४ रन जोड्दा जडेजाले ८६ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५६ रनको योगदान दिए।

यस्तै, रोहित शर्माले ३६, जसप्रीत बुमराहले २८, ऋषभ पन्तले २५, मोहम्मद शामी १३ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

इंग्ल्याण्डका लागि जेम्स एन्डरसन र ओली रोबिन्सनले उत्कृष्ट बलिङ गरे। रोबिन्सनले २६।५ ओभरमा ६ मेडनसहित ८५ रन खर्चिएर ५ विकेट लिँदा एन्डरसनको नाममा ४ विकेट रह्यो।

त्यसअघि ट्रेन्ट ब्रिजमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड पहिलो इनिङ्समा ६५.४ ओभर अलआउट हुँदै १ सय ८३ रनमा समेटिएको थियो। उसका लागि कप्तान जो रूटले अर्धशतकीय पारी खेले। उनले १०८ बलमा ११ चौकासहित ६४ रनको योगदान दिए।

यस्तै, जोनी बेयरिस्टोले २९, ज्याक क्रलीले २७, डोम सिब्लीले १८ रन बनाउँदा साम करनले २७ रनमा नटआउट रहे। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमासमेत रन बनाउन सकेनन्।

बलिङमा जसप्रित बुमराहले उत्कृष्ट बलिङ गरे। उनले २०।४ ओभरमा ४६ रन खर्चिएर ४ विकेट लिए। यसक्रममा उनले ४ ओभर मेडन राखे। यस्तै, मोहम्मद शामीले ३, शार्दुल ठाकुरले २, मोहम्मद सिराजले १ विकेट लिए।

पाँच टेस्ट सिरिजअन्तर्गत दोस्रो खेल बिहीबारदेखि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.