|

काठमाडौं : मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जथाभावि सरकारी कागजात बनाउँदा सर्वसाधारणले दुःख पाएकोमा आफूलाई दुःख लागेको बताएका छन्। 

आफ्नै मृत्यु दर्ता खारेजका लागि मोरङ जिल्ला प्रशासन कार्यालय पुगेका सुभाष तामाङको प्रशासनले मृत्यु दर्ता खारेज नगरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै निरौलाले जथाभावी सरकारी कागज बनाउँदा तामाङले दुःख पाएकोमा आफूपनि मर्माहत भएको जनाएका हुन्।

निरौलाले सामाजिक सञ्जाल फेसबुक लेखेका छन,

म मोरङको प्रमुख जिल्ला अधिकारी हुँ र अहिलेसम्म काम नभएकोमा सबै जिम्मा म लिन्छु। म आफैले बेलबारी नगरपालिकाको उपप्रमुख ढाका पराजुलीलाई फोन गरेर सबै कागजातसहित बोलाएको हुँ। 

निज सुभास तामाङ्ग हाम्रो कार्यालयमा २०७८ साल असार २० गते आइपुग्नु भएको हो। उहाँहरु र केही पत्रकार साथीहरु पनि आउनु भएको थियो। निजले भोजपुरबाट ०६८ सालमै बसाइ सराइ गरेर मोरङ आएको कागजात छ भने ०७२ सालमा फेरि भोजपुरबाटै मृत्यु दर्ता गरेको प्रमाणपत्र छ। 

तैपनि जीवितलाई मृत भनेर बनेका कागजात सच्याउनु पर्छ भनेर नै लागेको र बोलाएको हो। दुई वटा जिल्लाको विवरण भएकोले राष्ट्रिय परिचयपत्र तथा पत्र्जीकरण विभागमा पत्राचार गरिएको र विभागबाट पनि हिजो निर्देशन प्राप्त भएको छ। 

सरकारी कागजात हुन् जे मन लाग्यो, त्यसै गरी जारी गर्दा आउने परिणाम पनि विचार गर्नु पर्ने र कानूनसंगत हुनु पर्नेमा कसैले फरक सुझाव दिनु हुन्न होला। 

यसको तार्किक निश्कर्षमा अब पुग्न कुनै समस्या छैन । उहाँले पेश गरेका र हामीले गरेका कागजातहरु यसै मार्फत जानकारी गराउने छौ। जुन देशमा उहाँको मृत्यु भयो भनियो, त्यहीदेखि हाम्रोसम्म गलत व्यक्तिको विवरण आएको र त्यही विवरणका आधारमा मृत्यु दर्ता प्रमाणपत्र बनेको हो। यसबाट सबैमा पुगेको चोट प्रति हामी पनि मर्माहत नै छौ। जुन बेला उहाँ आउनु भयो, त्यही बेला यो काम भएको भए राम्रो हुने कुरामा भने दुइमत छैन। सुझाबहरुका लागि धन्यबाद।

तामाङ वैदेशिक रोजगारीका क्रममा साउदीमा दुर्घटनामा परी घाइते भएर कोमामा रहेका बेला कम्पनीले तामाङको मृत्यु भएको झुठो खबर दिएका कारण उनको मृत्यु दर्ता बनेको र पछि निको भएर तामाङ घर फर्किएसँगै आफू जिवितै भएको प्रमाणपत्र बनाउन जाँदा सास्ती खेप्नु परेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.