निःशुल्क कोरोना परीक्षण गरिने व्यवस्था मिलाएको जानकारी

|

जनकपुरधाम : कोरोना सङ्क्रमण जोखिम उच्च भएकाले जनसङ्ख्या अनुपातमा खोप आपूर्तिका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन्।

आज (बिहीबार) जनकपुरधामा कोभिड–१९ संक्रमणको व्यवस्थापन गर्न गठित केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिकास्तरको निर्देशन समितिको संयुक्त बैठकमा राउतले प्रदेश २ मा जनघनत्व अत्यधिक भएकाले खोप जनसंख्या अनुपातमा खोप आपूर्ति हुनुपर्ने बताए। 

स्वास्थ्यका संरचना एवं सुविधा पनि प्रदेश २ मा कमजोर भएकाले खोप मागिएको उनको भनाइ थियो। 

मुख्यमन्त्री राउतले प्रदेश २ को सबै जिल्लामा खुला सिमाना भएका कारणले कोरोनाको तेस्रो लहर आउने जोखिम कायमै रहेको हुँदा जनताको जीवन रक्षाका लागि खोपको आपूर्ति तथा जनचेतना फैलाउने कार्यमा तीनै तहका सरकारका बीचमा अधिकतम सहकार्य गर्न जरुरी रहेको बताए।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले जनताको जीवन रक्षा गर्नका लागि कुनै प्रकारको कसर बाँकी नराख्ने बताए। विगतमा कोरोना फैलिँदा केन्द्रबाट भएको कमी कमजोरी अनुभवी तथा योग्य व्यक्तिको रुपमा रहेका बालानन्द शर्मा नेतृत्वमा बनेको निर्देशन समितिबाट अब भेदभाव नहुने आशा व्यक्त गरे।

प्रदेश सरकारको कोरोनाको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको पनि राउतको भनाइ थियो। हाल ८ वटै जिल्लामा पिसिआर ल्याब जडान गरेर परीक्षण तथा उपचारका लागि अस्पताल निर्माणमा जोड दिएको पनि उनले बताए। 

केन्द्रीय निर्देशन समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले कोरोनाको नियन्त्रण गर्दै जनताको जनजीवन तथा आर्थिक गतिविधिलाई चलायमान बनाइराख्न स्मार्ट लकडाउनको नीति सरकारले बनाएको बताए।

कोरोनाका चार वटा चरण गरेर स्मार्ट लकडाउनको दायरामा आफैं आउने व्यवस्था रहेको र स्मार्ट लकडाउन नेपालले आफ्नै अनुभवका आधारमा बनाएको शर्माले बताए। 

कार्यक्रममा प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेश २ मा हालसम्म १२ प्रतिशत जनतालाई कोरोनाविरुद्ध खोप प्रदान गरेको, असोजसम्ममा ३३ प्रतिशत तथा चैत्रसम्ममा शतप्रतिशतलाई खोप लगाउने पक्षमा सरकार रहेकाले खोप आपूर्तिमा तीव्रता दिन आग्रह गरे।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धनुषामा कोरोनाको नियन्त्रणका लागि गरेको प्रयास, अक्सिजन उत्पादन गर्ने कारखाना तथा निजी क्षेत्रका अस्पतालहरूसँग गरेको सहकार्यका कारणले अहिले नियन्त्रणको अवस्थामा रहे पनि जोखिम यथावत् रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.