‘राति बन्द गर्नाले कोरोना रोकथाम हुँदैन’

|

काठमाडौं : उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहिबारदेखि अत्यावश्यक सेवा बाहेकका सवारीसाधन राति ८ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय गरे। कोरोना संक्रमण रोकथामका लागि भन्दै गरिएको यो निर्णयकाे चौतर्फी आलोचना भइरहेको छ। 

बिहान र दिउँसोको समयमा कोरोना नहुने तर राति ८ बजेपछि कोरोना संक्रमण सर्ने होर भन्ने धेरैले प्रश्न गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुले गत मंगलबार गरेको यो निर्णयमा विज्ञहरुले समेत असहमति जनाएका छन्।  

राति भन्दा दिउँसोको समयमा भिडभाड हुने ठाउँ बन्द गर्नुपर्ने विज्ञकाे सुझाव छ। सरुवा रोग विशेषज्ञ बाबुराम मरासिनी भन्छन,‘सरकारले राति बढी भिडभाड हुने,मादक पदार्थ सेवन गर्ने भएकाले रोक लगाएको होला, तर यी नियमले कोरोना रोकथाम प्रभावकारी हुन्न।’ 

उनका अनुसार राति भन्दा पनि अहिले दिउँसोको समयमा ठूला सपिङमल, भाटभटेनी, बिग मार्ट, ठूला होटलमा भिडभाड भइरहेको छ। त्यस्तै निजी होस या सरकारी भवनहरुका कार्यक्रम हुने गरेको छ। सडकमा नाराजुलुस भइरहेकाे छ। त्यहाँबाट संक्रमण फैलिएको छ। तर सरकारले यस तर्फ ध्यान नै दिएन।

‘यी भिडभाड हुने ठाउँ बन्द गर्नुपर्छ, अनि मात्रै संक्रमण नियन्त्रण गर्नमा सहयोग पुग्छ,’उनले भने। सरकारले त्यस्ता निर्णय गर्दा विशेषज्ञहरुकाे उपस्थितिबिना निर्णय गरेको र त्यो निर्णय प्रभावकारी नहुने मरासिनीको भनाई छ।

सार्वजनिक ठाउँमा स्वास्थ्य सुरक्षाका साधन नराख्दा जोखिम

काेराेनाकालकाे सुरुमा जताततै सार्वजनिक ठाउँमा सेनीटाइजर, साबुन पानीले हात धुने व्यवस्था लगायत स्वास्थ्य सुरक्षाका साधनहरु देखिन्थ्ये। तर अहिले ती साधनहरु छैनन्। राखिएको पनि प्रयोगमा ल्याइएन। यसको लागि सर्वसाधारणले हेलचेक्रयाई गरिरहेको विज्ञ मरासिनीको भनाई छ।

‘पहिला राखिएको स्वास्थ्य सुरक्षाका साधनहरु अहिले छैन,’उनले भने,‘हामीले पनि घरमा धेरै जमघट गर्न भएन, यसलाई बेवास्ता गरे आउने दिन कठिन हुनसक्छ।’ 

अर्का सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि सरकारले कुन समयमा कडाइ गर्दा कोरोना रोकथाम हुन्छ भन्ने विश्लेषण नै नगरी निर्णय गरेको बताउँछन्। उनले भने,‘राति होइन बढी दिउँसो भिडभाड हुने गरेको छ,यसलाई पो नियन्त्रण गर्नुपर्छ, यसरी संक्रमणदर घट्दैन।’

कोभिड–१९ बाट आउन सक्ने तेस्रो लहरबाट बच्न नागरिकको पनि उत्तिकै जिम्मेवारी रहेको पुनले बताए। ‘सरकारले कोरोना रोकथामको लागि त बढी खोप लगाउनमै लाग्नुपर्छ, हामी पनि चनाखो हुनुपर्छ, भिडभाडमा जान भएन,’पुनले भने।

कुन आधारले निर्णय गरियो ?

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली रातिको समयमा बढी पारिवारिक भेटघाट बाहिर हुने भएकाले यस्तो निर्णय गरिएको तर्क गर्छन। उनले भने,‘दिउँसो त हामी अनुगमन गरेर भिडभाड गर्न दिन्नौँ, तर राति १०/११ बजेको समयमा बाहिर होटल, रेष्टुरेन्टमा भिडभाड हुन्छ, यसबाट संक्रमण रोक्न सबै सरोकारवालाको सल्लाह सुझावमै यो निर्णय गरिएको हो।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला पनि कोभिड–१९ संक्रमण रोक्नकै लागि यो निर्णय गरेको बताउँछन्। निरौलाले भने,‘८ बजेपछि बाहिर धेरै भिडभाड हुँदा कोरोना सरेको देखियो, त्यस कारण यो निर्णय भएको हो, दिउँसोको समयमा भिडभाड कम गर्न माइकिङ गरिरहेकै छौँ।’

अबको निर्णय कस्तो आउँला ?

कोरोना रोकथाम गर्न भनेर नै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकालगायत बाहिर जिल्लामा निषेधाज्ञा जारी भयो। संक्रमण कम हुँदै गएपछि निषेधाज्ञा जारी भएको करिब दुई महिनापछि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइँदै गयो।

सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छ। पछिल्लो समय कोरोना संक्रमणको ग्राफ बढदै गएको छ। दैनिक तीन हजार भन्दामाथि नै नयाँ कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

संक्रमण नियन्त्रण गर्न विस्तारै निषेधाज्ञा कडाइ गर्दै जाने योजना सरकारको छ। सिडिओ पराजुलीले भने,‘हिजोदेखि ८ बजेपछि साधन सञ्चालनमा रोक लगाएका छौँ,विस्तारै अरु क्षेत्रमा पनि यसैगरी रोक लगाउँदै जान्छौँ।’

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रवक्ता नूरहरि खतिवडाले संक्रमण दरको अवस्थालाई वैज्ञानिक ढंगले हेरेर थप निर्णय लिदै जाने बताए। बढी भिडभाड हुँदा संक्रमण फैलिएको पाएकाले नै रातिको सवारीसाधन सञ्चालन रोक लगाएको उनको भनाई छ।

उनका अनुसार कोभिड रोकथामका लागि ‘स्मार्ट लकडाउन’को अवधारणा ल्याइएको छ। जसअनुसार अवस्था हेरेर जिल्लामा लकडाउन गर्ने वा खोल्न सकिने छ।

‘बढी संक्रमणदर बढ्दै गएको जिल्लालाई रेडजोनमा राखेका छौँ,त्यसमा परेमा ती जिल्लामा पूर्ण लकडाउन हुन्छ,नर्मल जोनमा भएमा ती जिल्लामा हेरेर आवश्यक अनुसार सेवा सञ्चालन गर्न सकिन्छ,यो वैज्ञानिक आधारले अवधारणा ल्याइएको हो,’प्रवक्ता खतिवडाले भने। 

केही समयसम्मको अवस्थालाई हेरेर मात्रै काठमाडौं उपत्यकामा थप निर्णय लिन सकिने उनको भनाई छ। उनले भने,‘संक्रमण दर बढ्दा कस्तो परिणाम देखा पर्छ,त्यो समय अनुसार सिसिएमसीले निर्णय लिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.