|

धनगढी : कैलालीमा बाढीले हुलाकी राजमार्ग आयोजनाअन्तर्गत सडक बगाएको छ।

बिहीबार रातिदेखि परेको अविरल बर्षाले भजनी नगरपालिका-५ लालबोझी खण्ड बाढीले लगेको हो। वर्षाले कान्द्रा नदीको बहाव बढेको थियो। बाढीले सडकसँगै खेत पनि बगाएको स्थानीयले बताए। तराई क्षेत्रको 'लाइफलाइन' यो राजमार्ग २०६६/६७ मा निर्माण थालिएको थियो। 

स्थानीय लक्ष्मी चौधरीका अनुसार हुलाकी सडक बगाएपछि वैकल्पिक बाटो प्रयोग गरेर आवतजावत गर्नुपर्ने बाध्यता छ। नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि सरकारले कुनै प्रयास नै नगरेको चौधरीको गुनासो छ। हुलाकी सडकमा तटबन्ध गरिनुपर्ने उनले बताइन्।

भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चोकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर हुलाकी सडक निर्माण गरिएको थियो। ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि त्यस काम बढ्न सकेको थिएन। सरकारले उक्त सडक स्तरोन्नति गर्ने भनेपछि हाल तीन चरणमा काम बढाइएको छ।

यस्तै धनगढी उपमहानगरपालिका-१४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिङरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ। कल्भर्ट भत्किएपछि फूलबारीका स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

तीन वर्षदेखि जीर्ण कल्भर्ट जनप्रतिनिधिको बेवास्ताले पुनर्निर्माण हुन नसकेको र अहिले भत्किएको स्थानीयले आरोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.