|

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका युवाहरूले सडकमा धान रोपेका छन्। सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामकै सडक हिलाम्मे हुँदासमेत जीर्ण सडक मर्मत नगरिएको भन्दै युवाहरूले शुक्रबार सडकमै धान रोपेका हुन्।

पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे हुने र हिलोले हिँड्न समस्या भएको भन्दै सडकमै धान रोपेका स्थानीय युवा सुरत तमोलीले बताए।

उनका अनुसार स्थानीयहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै दबाबस्वरूप धान रोपिएको हो। ‘नेता सुते धान उठे, बन्दैन सडक फल्दैछ बास्मती’ भन्ने नाराका साथ उनीहरूले विरोधस्वरूप सडकमा धान रोपेका हुन्।

धान रोप्ने समयमा स्थानीय महिलाले फागसमेत गाएका थिए। महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दुई पटक आह्वान गरेको बोलपत्र स्थगित गरिसकेको छ।

बजेट विनियोजन भई टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेका थिए। डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दुर्घटनाको उच्च जोखिम उच्च छ।

७ पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा दैनिकजसो जाम लाग्ने गरेको छ। जसका कारण हिँडडुल गर्न समस्या हुने स्थानीय बताउँछन्। सडक विस्तारका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको थियो।

सडक विस्तारका लागि टेण्डरसमेत भइसकेको अवस्थामा बागबजारका केही व्यापारीले क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.