|

म्याग्दी : गाउँको शिरानमा छङछङ गर्दै झरेका छहरा र पुछारका कलकल गर्दै बगेको म्याग्दी नदी। त्यही बीच रहेको २०८ घरधुरीमा खानेपानीको हाहाकार।

बेनी नगरपालिका-२ को बगरफाँट गाउँमा दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ। पहिरोले खानेपानीको मुहान र पाइप बगाएपछि खानेपानीको अभाव भएको हो। गत असार ७ मा मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले खानेपानीको मुहान र पाइप बगाएको हो।

यसबीचमा सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपलाइनमा क्षति पुर्‍याएपछि बगरफाँटका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको बगरफाँटका टेकबहादुर कार्कीले बताए। लामो समयदेखि खानेपानीको समस्या हुँदा समेत बैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा समस्यामा परेका स्थानीयले बताएका छन्।

२०६९ सालमा बेनी नगरपालिका-३ भकिम्ली र बेनपा-२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो। ५४ लाख रुपैयाँको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो।

त्यसपछि बर्सेनि बर्खाको समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पुर्‍याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइपलाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए। अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत कार्य अघि बढाइने छ। खानेपानीको समस्याका कारण बगरफाँटका १२ सयभन्दा बढी जनता प्रत्यक्षरुपमा प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.