|

धनकुटा : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले गृह जिल्ला धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीका कारण विवाद भएको छ। भदौ १० गते वितरणको तयारी गरिएको स्वास्थ्य सामग्रीमा थापाले सुर्यबहादुर थापा प्रतिष्ठान र नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न टाँसेपछि विवाद भएको हो।

नेकपा (एमाले) धनकुटाले स्वास्थ्य मन्त्रालयबाट आएको सामग्रीलाई थापाले आफ्नो पार्टीको प्रचार गरेको भन्दै मंगलबार सामान राखिएको स्थान प्यासिफिक होटल घेराउ गरेको छ। थापाले गृह जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, अक्सिजन सिलिण्डर, सर्जिकल मास्क, अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटरलगायत सामग्री वितरणको तयारी गरेको छ।

तर, एमालेले सामानको दुरुपयोग भएको भन्दै प्रशासनले जफत गर्नुपर्ने माग गरेको छ। एमाले धनकुटाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले प्रशासनले सामान जफत गरेर जिल्लास्तरीय कोभिड नियन्त्रण समितिमार्फत वितरण गरिनुपर्ने बताए। सरकारी सामान कुनै एउटा पार्टीको लोगो र चुनाव चिह्न टाँसेर वितरण गर्न खोज्नु गलत भएको उनको भनाइ छ। उक्त सामानको विषयमा प्रशासनले छानबिन गरेर कारबाही गर्नुपर्ने र सामान जफत नभए आफैं जफत गरेर वितरण गर्ने राईले बताए।

यता पूर्वमन्त्री थापाले प्रतिष्ठानको सामानमा राजनीति नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। उनले उक्त सामानमा नेपाल सरकारको एक पैसा पनि नपरेको‚ दाताहरुले प्रतिष्ठानमा जम्मा गरेको दाबी गरे। ‘मैले सरकारी सामान प्रतिष्ठानको नाम लिएर किन बाड्नुपर्‍यो भन्नुस् त?’ थापाले प्रश्न गर्दै भने‚ ‘सरकारी सामान सरकारले सम्बन्धित जिल्लामा पुर्‍याउँदैन र?’

थापाले सामान नितान्त सूर्यबहादुर थापा प्रतिष्ठानको भएको र प्रतिष्ठानले नेपाली कांग्रेस धनकुटालाई हस्तान्तरणको तयारी गरेकको बताए। प्रशासनले जफत गर्नुपर्ने माग छ त आन्दोलनरत पक्षको भन्ने प्रश्नमा उनले संविधान कानुनअनुसार निजी सामान प्रशासनले जफत गर्न नमिल्ने बताए। उनले हिम्मत हुनेले आफैं सामान खरिद गरेर वितरण गरे आफ्नो सहयोग रहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.