|

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले नेपाली टिम र बंगलादेशबीच मैत्रीपूर्ण खेल पक्का भएको जनाएका छन्।

नेपालले बंगलादेशी टोलीसँग भदौ २४ र २७ मा प्रतिस्पर्धा गर्ने छ। नेपालले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप (२०२२) को छनोट खेल खेल्दै छ। छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन्।

एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। मिडफिल्डर प्रीति राई, फरवार्ड रश्मी घिसिङ, सविता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका छन्।

छनोटमा नेपालले समूह एफमा रहेर प्रतिस्पर्धा गर्ने छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। उज्वेकिस्तानको जेएआर रंगशालामा हुने खेलको शीर्ष स्थान ओगट्ने टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.