|

काठमाडौं :  कोरोना भाइरसका कारण लामो समयदेखि  रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी लाइसेन्स परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।

कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरी अबको एक सातामा परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागका सुचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

भुसालकाअनुसार अर्को साता सूचना निस्कने छ। त्यसको सात दिनपछि ट्रायल परीक्षा सुरु हुनेछ। अनलाइन आवेदन दिएकाहरूलाई जानकारीका लागि एक साता अघि नै सूचना निकाल्न लागिएको हो। करिब ५ लाखले अनलाइन आवेदन दिएर ट्रायलको प्रतिक्षा गरिरहेका छन्। ट्राभलसँगै अनलाइन आवेदन पनि खुल्ला गर्ने तयारी गरेको छ।
 
विभागले ट्रायल परीक्षा संचालनका लागि काेराेना संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमतिपत्र परीक्षा  सम्बन्धी मापदण्ड २०७८  ल्याएर ट्रायल परीक्षा संचालन गर्न लागेको हो। जस अनुसार लिखित, प्रयोगात्मक परीक्षा संचालन, कार्यालय प्रमुख र परीक्षार्थीका लागि मापदण्ड तोकिएको छ। स्वास्थ्य मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नु पर्नेछ।

कसरी लिइन्छ परिक्षा ?

विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ। परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ।

एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी सहभागी हुन पाउने छन्। तर परीक्षा हल ठूलो भएमा स्वास्थ्य मापदण्ड पालन गर्ने गरी २५ जनाभन्दा बढी परीक्षार्थीलाई सामेल गराउन सकिनेछ। परीक्षा सुरु हुनु भन्दा १५ मिनेट अघिमात्र परीक्षार्थीहरूलाई भिडभाड नहुने गरी हलमा क्रम संख्या अनुसार प्रवेश गराउनु पर्नेछ।  

कार्यालयले खुल्ला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नु पर्नेछ। परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टा अगाडि जानकारी गराइने विभागले जनाएको छ। तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमासमेत सामेल हुन नपाउने विभागको भनाइ छ।

विभागकाअनुसार परीक्षार्थीले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफै गर्नुपर्नेछ।

ट्रायल परीक्षा  मापदण्ड

यसअघिका लाइसेन्स परीक्षा प्रणालीअनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था थियाे। उक्त प्रणालीलाई सरलीकृत गरेर अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागू गर्न लागिएको  हो।

सुधारिएको प्रणालीअनुसार ट्रायलमा समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ। जस्तै, ट्राफिक लाइट, उकालो,ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर अलग अलग अंक छुट्याइने छ।

जसबाट ७० अंक ल्याउने पास हुनेछ। सुधारिएको प्रणालीबाट ६० प्रतिशत बढीले सवारी चालक अनुमतिपत्रको ट्रायल तथा लिखित परीक्षा पास गर्ने अनुमान छ।

लिखतका लागि प्रश्नहरुको संग्रह विभागको वेबसाइटमा राखिएको छ। सोही संग्रह भित्रबाट प्रश्न आउनेछ। अन्य स्रोत खोज्न नपरोस् भनेर सेवाग्राहीको सुविधाका लागि विभागले प्रश्नहरुको संग्रह राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.