|

काठमाडौं : पछिल्लो तीन दिनदेखि परेको बर्षाका कारण देशका बिभिन्न जिल्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परी चार जना बेपत्ता भएका छन्।

प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पूर्वमा तीन, पश्चिममा दुई, रूपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एकरएक जना रहेका छन्। यस्तै बेपत्ता हुनेमा नवलपरासी पश्चिम, रूपन्देही, कैलाली र ललितपुरमा एक/एक जना रहेका छन्।

मृत्यु हुनेमा पाँच पुरूष र पाँच महिला तथा बालिका छन्। यस्तै बेपत्ता हुनेमा दुई बालिका र दुई पुरूष छन्। नवलपरासी पूर्वमा बिहीबार राति पहिरोले पुरिएर बेपत्ता भएका तीन हजुरआमा नातिनीको शव भर्खरै फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पहिरोमा बेपत्ता भएकाहरूले शव प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले भर्खरै फेला पारेको जानकारी दिए। हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता पहिरोमा बेपत्ता भएका थिए।

राति करिब २ बजे गएको पहिरोले ५० वर्षीय हस्तबहादुर पुलामीको घर पूर्णरूपमा क्षति भएको हो। पहिरोमा हस्तबहादुरलाई पुरेको थियो। उनको स्थानीयले तत्काल उद्धार गरी नजिकैको विद्यालयमा राखेका थिए। उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा लगिएको छ।

यस्तै नवलपरासी पश्चिममा मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ पम्फापुरका विनोद प्यासी र उनका १३ वर्षीय छोरा प्रदिप प्यासी छन्। घरमा पहिरो गएपछि छिमेकीको घरमा जाने बेला पानीले डुबेर बाबुछोराको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार यादवकाअनुसार घट्ना शुक्रबार बिहानको हो।

यस्तै सुनवल नगरपालिका– १४ की  १० वर्षीया एलिसा तामाङ बेपत्ता भएकी छन्। उनको खोजीकार्य भइरहेको यादवले जानकारी दिए। यस्तै रूपन्देहीको ओमसतिया गाउँपालिका–४ रोहिणी खोलाले बगाएर ५५ वर्षीया परमेश्वर कर्णको शुक्रबार दिउसो मृत्यु भएको छ।

रूपन्देहीमै तिनाउ खोलामा आएको बाढीले सम्मरीमाई गाउँपालिका–३ बस्ने २३ वर्षीय बब्लु लोधलाई बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ। मलामी गएका दाङको दंगीशरण गाउँपालिका–१ बाकी का ५० वर्षीय बामदेव देवकोटाको बबई नदीले बगाउँदा मृत्यु भएको छ।

शुक्रबार बिहान मलामी गएको बेला नुहाउने क्रममा उनलाई बबई नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव करिब पाँच सय मिटर तल स्थानीयले फेला पारेका थिए। यस्तै ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतान रहेको मृत्यु भएको छ।

उनीसँगै खोलाले बगाएकी ९ बालिका युनिसा बम्जन बेपत्ता भएको महानगरीय प्रहरी वृत चापागाउँले जनाएको छ। यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारूको मृत्यु भएको छ।

लुगा धुँदै गरेकी थारूलाई अचानक खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। बाढीले बगाएर करिब ७ किलोमिटर पर पुर्‍याएकाे अवस्थामा थारूको शव फेला परेको विष्टले बताए।

मोहना नदी तर्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय पुरन रानाको अवस्था अझै अज्ञात छ। कञ्चनपुरदेखि कैलाली आउने क्रममा शुक्रबार बेलुकी मोहोना नदीमा बगेर उनी बेपत्ता भएको र खोजीकार्य जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

यस्तै उदयपुरमा पहिरोले पुरेर गम्भीर घाइते भएका एक बालकको शुक्रबार मृत्यु भएको छ। प्रहरीकाअनुसार कटारी नगरपालिका–२ मिलन चोकका पोष्टबहादुर मगरको ७ वर्षीय छोरा कर्ण मगरको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीपहिरो र डुबानका कारण देशका बिभिन्न ठाउँमा सडक, घरहरू भत्किएका छन् भने तराईका जिल्लामा सयौ घरहरू डुबानमा परेका छन्। थुप्रै धनमालको क्षति भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.