|

काठमाडौं : नेकपा माओवादी केन्द्रले संघीय सरकारमा ६ वटा मन्त्रालय मात्र पाउने भएको छ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या कटौती भएको हो।

माधव नेपाल नेतृत्वको पार्टी पनि सरकारमा सहभागी हुने भएपछि माओवादीले पाउने मन्त्रालय स्वतः घटेको केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। 

उनले भने, ‘माधवजीहरू पनि आउने भएपछि स्वतः माओवादीले पाउने मन्त्रालय घट्छ। तर, पार्टीभित्र आकांक्षी धेरै देखिएका छन्। सांसद मात्र नभएर संसदभन्दा बाहिरका पनि आकांक्षी देखिएपछि आलोपालो गरी मन्त्री बनाउने कि भन्ने छलफल हिजो पनि भएको थियो।’ 

भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को नेतृत्व चयनदेखि सरकारमा मन्त्री पठाउने विषयमा सोमबार स्थायी कमिटीमा छलफल भएको थियो।

गठबन्धनको बैठकबाट फर्किएपछि अध्यक्षले ६ वटा मन्त्रालय पाउने जानकारी गराएको उनको भनाइ छ। 

'कुन कुन मन्त्रालय पाउने तय भएको छैन। मन्त्रालयको संख्या घट्ने भएकाले कसरी र कुन कुन नेतालाई मन्त्री बनाउने प्रारम्भिक छलफलचाहीँ भयो तर, निष्कर्षमा पुगिएको छैन,’ उनले भने।  

संविधानतः प्रधानमन्त्री देउवाले २५ भन्दा बढी सदस्यीय मन्त्रीमण्डल बनाउन पाउँदैनन्। तर, उनले सो संख्याभित्र कांग्रेससहित माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा समावेश गराउनुपर्ने बाध्यता छ। 

देउवा नेतृत्वको गठबन्धन सरकारले दुई महिना पुग्न लाग्दासमेत सरकारलाई पूर्णता पाउन सकेको छैन। माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ मा उनी प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्रीले लिएको सपथका दिन नै कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ मन्त्रीले पनि सपथ लिएका थिए। 

त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरे। यसबाहेक बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.