मंगलबार नगरेकाले भोलि सनाखत गर्ने दाबी

|

धनगढी : सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्दै सनाखत गरेका हुन्।

विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।

तर, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, राज्यमन्त्री अर्चना गहतराज र प्रदेशसभा सदस्य तारा लामा तामाङले पनि आजै सनाखत गर्ने भनिएकोमा उनीहरू निर्वाचन कार्यालयमा उपस्थित भएनन्। भौतिक पूर्वाधार विकासमन्त्री सोडारीले आफूसहित ३/४ जना सांसदले भोलि सनाखत गर्ने तयारी रहेको बताए।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्। एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरूले पनि माधवको साथ छाडेको चर्चा छ।

विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरूले नेकपा एमालेमै रहने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.