|

हेटौंडा : कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका मकवानपुरका विद्यालयहरु स्थानीय तहको निगरानीमा आइतबारबाट खुल्ने भएका छन् । 

बिहीबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्थानीय तहको निगरानी तथा विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आइतबारबाट विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको जिम्मेवारी रहनेगरी संचालन गर्न पाइने भएको छ ।

तर हेटौंडामा विद्यालय सञ्चालन गर्न अझै जोखिम कायम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलले पेश गरेको प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहलाई कोरोना संक्रमण जोखिमका आधारमा ४ क्षेत्रमा विभाजन गरी विद्यालय सञ्चालनको विषय प्रस्तुत गरिएको थियो।  

उनका अनुसार हेटौंडा उपमहानगरपालिका कडा (हार्ड) लकडाउनको क्षेत्रमा रहेको छ। थाहा नगरपालिका तथा मनहरी र मकवानपुरगढी गाउँपालिकामा आंशिक (मिक्स) लकडाउन, बागमती, बकैया र भीमफेदी गाउँपालिकामा हल्का (सफ्ट) लकडाउन तथा इन्द्रसरोवर, राक्सिराङ र कैलाश गाउँपालिका अत्यन्त न्यून (मिनिमम)  लकडाउनको क्षेत्रमा रहेका छन्।

हेटौंडामा अझै पनि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नहुने प्रमुख खरेलको भनाई रहेको थियो। हेटौंडाका भिडभाड कम भएका क्षेत्रहरुमा अभिभावक तथा विद्यालयको सहमतिमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने छ।

मिक्स लकडाउन भएका क्षेत्रमा ५० प्रतिशत शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा गृहकार्य दिने र संकलन गर्ने गरी विद्यालय सञ्चालन गर्न मिल्ने तथा अन्य क्षेत्रमा पनि आवश्यकता अनुसार विद्यालय सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.