|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विधान महाधिवेशन १० दिन पछि सरेको छ । 

यसअघि असोज ४ देखि ६ गतेसम्म हुने भनिएको महाधिवेशन शनिबार बसेको स्थायी कमिटी बैठकले असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । 

विधान महाधिवेशनका लागि पार्टीले स्थायी कमिटीको बैठक असोजको ३ र ४ गतेका लागि डाकेको छ। महाधिवेशनमा देशभरबाट तीन हजार प्रतिनिधि सहभागी हुनेछन्। 

बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरू स्थायी समितिको बैठकमा प्रस्तुत हुने र त्यसमाथि व्यापक छलफल गरेर मात्रै अघि बढ्ने पार्टीका सचिव योगेश भट्टराईले बताए ।

उनले यसमा आएका सुझावहरूलाई राखेर केन्द्रीय कमिटीको बैठकमा पेश गरिनेछ । केन्द्रीय कमिटीको बैठक असोजको ८ र ९ गतेका लागि बोलाइएको पनि उनले जानकारी दिए। 

सचिव भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका सदस्यहरु हुने ऐन रहे पनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रीय कमिटी र त्यसका सदस्यहरु, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य,केन्द्रीय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरुले भाग लिन पाउनेछन्।

त्यस्तै प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुल्ला एक सदस्य, जनसंगठनका पदाधिकारी मध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख छन्। 

एकता प्रक्रियाबाट आएका र विभिन्न ठाउँबाट छुटेकालाई समेट्न केन्द्रीय कमिटीले १० प्रतिशत प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.