|

म्याग्दी : धेरै मानिसहको रहर काठमाण्डौंमा घर बनाउने, त्यही बस्ने र रमाउने हुन्छ। यही रहर पूरा गर्नका लागि कैयौं व्यक्ति विदेश जान्छन्। गाउँको जायजेथा बेचेरै भए पनि दुई तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौंमा घर बनाउँछन्।

तर‚ म्याग्दीका एक जना व्यक्ति काठमाडौंबाट फर्केर गाउँमा स्थानीय जातका कुखुरा पालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन्। काठमाडौंको गोंगबुमा रहेको आफ्नो पाँच तले घर भाडामा दिएर गाउँ फर्किएका बेनी नगरपालिका–२ बगरफाँटका ५४ वर्षीय दुर्गाबहादुर थापाको दैनिकी कुखुरा र केरा खेतीको स्याहार सुसारमा बित्ने गर्छ।

उनी बिहान उठेदेखि राति नसुतुन्जेलसम्म उनी कुखुराको खोर र केराबारीमा नै व्यस्त रहन्छन्। आठ लाख रुपैयाँ लगानीमा उनले स्थानीय जातका कुखरा पालन गरेका छन्। ‘खोर बनाउन र चल्ला खरिद गर्न आठ लाख रुपैयाँ लगानी भैसकेको छ‚’ थापाले भने‚ ‘काठमाडौंको एकांकी जीवनभन्दा यहीं आनन्द छ। आफ्नै माटोमा रमाउनुको मज्जै बेग्लै हुँदो रहेछ। मनमा शान्ति छ, शरीरमा स्फूर्ति छ, यहाँभन्दा बढी के चाहियो र?’

थापा दुई वर्षअघि कोभिड १९ को संक्रमण सुरु हुनुबित्तिकै श्रीमती, छोरा र बुहारीसहित गाउँ फर्किएका थिए। उनले कोरोना संक्रमणको पहिलो लहर सुरु हुनेबित्तिकै आठ रोपनी जग्गामा करिब एक हजार केराका विरुवा लगाए।

‘यो खेतमा पहिला धान फल्थ्यो, धान खेती गर्न लागत बढी लाग्ने उत्पादन कम हुने, झन्झटिलो हुने र कृषि मजदुरको पनि अभाव हुने भएकाले मैले धान फल्ने खेतमा केरा खेती गरेको हुँ‚’ घर पछाडिको केराबारीलाई देखाउँदै उनले भने‚ ‘दुई वर्ष भयो, अब आउँदो वर्षदेखि केरा बिक्री गरेर वार्षिक चार लाख रुपैयाँभन्दा बढी कमाइ गर्ने लक्ष्य लिएको छु।’ थापालाई उनकी श्रीमती र छोराले पनि सघाउने गरेका छन्।

थापाले यस क्षेत्रमा नै पहिलो पटक व्यावसायिक रुपमा स्थानीय जातका कुखुरा पालेका छन्। उनको खोरमा अहिले ६०० भन्दा बढी स्थानीय जातका कुखुरा बिक्रीका लागि तयार भएका छन्। एउटा कुखुरा करिब तीन किलोका छन्। प्रतिगोटा दुई हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए। दशैंमा विशेष छुटका साथ कुखुरा बिक्री गर्ने थापाले बताए।

‘मैले रहरले गरेको व्यवसाय हो, एकै पटक धेरै नाफा कमाउने उद्देश्यले मैले व्यवसाय गरेको होइन,’ उनले भने‚ ‘ग्राहकलाई खुसी बनाएर पठाउने र सन्तुष्टि दिलाउने मेरो प्रयास हुने छ।’

घर वरिपरि रहेको १४ रोपनी जग्गामध्ये ८ रोपनीमा केरा खेती र बाँकी ६ रोपनीमा फलफूल, तरकारी खेती गर्नुका साथै कुखुराको खोर बनाएका छन्। साना ठूला गरी तीनवटा खोरमा उनले स्थानीय जातका कुखुरा पालेका छन्। एउटा खोरमा कालिज प्रजातिको ‘कक्कड’ नामक कालो कुखुरा पनि पालेका छन्।

करिब २० वर्ष कोरिया बसेर फर्किएका थापाले काठमाडौंमा घर बनाएर एक दशकसम्म होटेल व्यवसायमा पनि गरे। आफ्नै घरमा सञ्चालन गरेको गेष्ट हाउस अहिले अर्कैलाई भाडामा दिएका छन्।

 ‘जीवनमा धेरै दुःख गरियो, धेरै थोरै कमाइयो पनि‚’ थापाले भने‚ ‘तर, कहीं पनि मन रमाउन सकेन, त्यसैले आफ्नै गाउँ फर्किआयौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.