|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौं र पाटन नगरपालिका–६ मा मदिरा बेचबिखन र ओसारपसार पूर्णरुपमा रोक लगाएको छ।

बडादशैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपसार बन्द गरिएको हो। देहिमाडौंमा रहेको प्रसिद्ध निग्लाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशुबलीसहित जात्रा लाग्ने गर्दछ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौं बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ। दशरथचन्द नगरापलिका–२ का वडाअध्यक्ष रनबहादुर बोहराका अनुसार मदिरा बेचबिखन तथा सेवन गरेको पाइएमा जरिवाना गरिनेछ।

कसैले मदिरा सेवन गरेको पाइएमा दुई हजार, बेचबिखन र ओसारपसार गरेमा ६ हजार जरिवानासहित मदिरासमेत जफत गरिने वडा कार्यालयले जनाएको छ। यसका साथै जुवा खेले वा खेलाएमा तीन हजार जरिवाना गरिने बताइएको छ।

उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउनको लागि पनि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

महाअष्टमी र महानवमीका दिन पूर्णरुपमा रोक र आइतबारदेखि पाटन बजारमा दिउँसो ३ बजे देखि ६ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने जनाइएको छ।

सरोकारवालाको बैठकले मेलालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न पाटन नगरपालिका–६ का वडा सदस्य करनसिंह कठायतको अध्यक्षतामा १३ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरिएको हो।

यस्तै कोरोना संक्रमणको जोखिम कायमै रहेकोले मेला तथा जात्रामा सहभागी हुने दर्शनार्थीलाई अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.