|

काठमाडौं : विश्वकै महंगो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्।

यूएइको दुवइ अन्तर्राष्ट्रिय रंगशालामा शुक्रवार हुने फाइनल खेलमा पहिलो क्वालिफायरमा जित निकालेर चेन्नई सुपरकिंग्स र दोस्रो क्वालिफयारमा जित निकाल्दै कोलकत्ता उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।

चेन्नईले तीन पटक उपाधि जितिसकेको छ। यसपटकको उपाधि जितेर चेन्नई सर्वाधिक आइपिएल जित्ने मुम्बई इन्डियन्सले बनाएको पाँच उपाधिको रेकर्डसँग नजिक पुग्न चाहन्छ।

चेन्नईले २०१०, २०११ र २०१८ मा उपाधि जितेको हो। कोलकत्ता पनि आफ्नो नाममा तीनपटक आइपिएल उपाधि जितेको रेकर्ड राख्न चाहान्छ। यसले दुई पटक उपाधि जितिसकेको छ। कोलकत्ताले २०१२ र २०१४ मा उपाधि जितेको थियो। 

धोनीको कप्तानीमा चेन्नईले समूह चरणका १४ खेलमध्ये ९ खेलमा जित निकाल्दै १८ अंक जोड्यो। त्यसबाट चेन्नई शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुगेको थियो। सो क्रममा धोनीले १५ खेलको ११ पारी खेलेर एक सय १४ रन बनाए। जसमा उनको सर्वाधिक रन १८ रह्यो।

कोलकत्ताका कप्तान हुन् इयोन मोर्गन। उनको कप्तानीमा कोलकत्ता भाग्यले बाँचेर प्लेअफमा पुगेको थियो। अक्सर ८ खेल जित्दा प्ले अफ पुगिने आइपिएलमा कोलकत्ता ७ खेल जितेरै पहिलो इलिमिनेटर खेलेको थियो। उसले इन्डियामा भएको खेलमा राम्रो प्रदर्शन नगरे पनि यूएईमा भएका सातमध्ये ५ खेलमा जित निकालेको थियो।

कप्तान मोर्गनले लिगभरी १६ खेलबाट १५ पारी खेलेर कुल एक सय २९ रन मात्र बनाए। यसपटकको उपाधि जित्ने टिमले १० करोड भारु पुरस्कार पाउने छ। गत सिजनको आइपिएल विजेता मुम्बई इन्डियन्सले २० करोड भारु पुरस्कार पाएको थियो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइपिएल २०२० को उपाधि जित्ने टिमले अघिल्लो संस्करणको तुलनामा आधा पुरस्कार राशि पाउने निर्णय गरेको थियो। यस्तै उपविजेता टिमले ६ करोड २५ लाख भारु पुरस्कार पाउने छ। क्वालिफायरमा हार्ने टिमले ४ करोड ३७ लाख ५० हजार भारु पाउने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.