|

पर्वत : पत्रकारितासँग जोडिएका पोखराका श्रीप्रसाद बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइट नोट’ राखेर आफूलाई मर्न बाध्य पारिएको कुरा उल्लेख गरी आत्महत्या गरेका छन्।

बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनका पूर्व सिइओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिइओसमेत रहेका उनी बाल अधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बाँस्तोलाले शुक्रवार बिहान करिब चार बजेको समयमा आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको बताए।

उनको फेसवुक हेर्दा बिहान ३ः३५ मा आत्महत्या गर्ने बारेको स्ट्याटस राखेको पाइएकोमा करिब साढे चार बजेको समयमा प्रहरीलाई आत्महत्या गरेको खबर पुगेको थियो।

बाँस्तोलाले किचन नजिकै पङ्खा राख्ने ‘हुक’ मा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनको पोस्टमार्टम समेत भइसकेको छ। मृतक बाँस्तोलाले फेसबुकमा ‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै देशको वातावरण गर्ने नभई मर्ने बनाउने खालको रहेको उल्लेख गरी पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना, स्कुल सबै चैट भएकोमा अहिले आफै चैट भएको’ लेखेका छन्।

उनले आफ्नी श्रीमती सृजना घिमिरेलाई छल र कपटकी रहेको आरोप लगाउँदै लज्जा देख्नुभन्दा आफै अस्ताउनु बेस भएकोले आत्महत्या गरेको उल्लेख गरेका छन्।

उनले आफूलाई मर्न बाध्य पार्ने षड्यन्त्रकारीहरू भनी मुख्य योजनाकारका रूपमा पोखरा महानगरपालिका–११ का रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, श्रीमती सृजना बाँस्तोला, श्रीमतीसँग निकट उज्ज्वल पुन मगर, अनिल गुरुङ, पोखरा–१४ का अजय के.सी, बागलुङकी बिन्दु मगर, पोखरा काहुँका हिम पौडेल नारायण र नरेश गुरुङको नाम फेसबुकमा लेखेका छन्। 

प्रहरी प्रधान कार्यालय काठमाडौंलाई सम्बोधन गरी लेखिएको स्टाटसमा दुई वर्ष अगाडि विश्वराज बास्तोला छात्रा दुर्वव्यवहारमा पक्राउ परेपछि आफूलाई फसाउने धम्की दिइएको उल्लेख गरिएको छ।

माथि नाम उल्लेख गरिएका व्यक्तिहरूको षडयन्त्रमा आफ्नै श्रीमतीले झुक्काई खाली चेकमा हस्ताक्षर गराई पछि रकम भरेर फसाएको, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेस गरेको भनिएको छ।

यस्तै श्रीमती सृजनाले आफूलाई नशालु पदार्थ खुवाई अनिल गुरुङ र अजय केसीको सहयोगमा बागलुङकी बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखेर भिडियो बनाएको पनि लेखिएको छ।

आफू पोखरा टेलिभिजनको सिइओ हुँदा चेकमा हस्ताक्षर मात्र गरी संस्थापकलाई बुझाएको बाँस्तोलाले लेखेका छन्। आफूलाई मर्न बाध्य पारिएका कारण निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुन बमोजिम कारबाहीको माग समेत गरेका छन्।

बाँस्तोलाका स्ट्याटसमा आफ्नो लास गाड्न, कसैले पनि किरिया नगर्न अनुरोध गर्दै तिर्नुपर्ने कारोबारहरू प्रायः सबै आफैले तिरेको र बाँकी रहेको श्रीमतीसँग लिनका लागि पनि भनेका छन्। प्रहरीले जाहेरी दर्ता नभएको र पोस्टमार्टम रिपोर्टपछि घटनाको विषयमा गहन अनुसन्धान गर्ने जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.