|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाको अल्टिमेटम दिएको नेपाल बार एशोसिएसनले आजदेखि विरोधका कार्यक्रम सुरु गर्दैछ।

पाँच दिनको अल्टिमेटम दिएको बारले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । धर्नाका बीच पर्सि मंगलबार विरोधसभा पनि गर्ने कार्यक्रम छ। त्यस अवधिमा पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारले चेतावती दिएको छ। 

इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने तयारी रहेको नेपाल बार एशोसियसनका महासचिव लिलामणि पौडेलले जानकारी दिए। 

यसैबीच प्रधानन्यायाधीश जबराको शैलीविरुद्ध न्यायाधीशहरु आज पनि इजलासमा नबस्ने भएका छन्। बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आज सर्वोच्च अदालतमा पुगेर इजलास बहिष्कार गर्ने तयारीमा छन्। 

यसअघि न्यायाधीशहरूले शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने बारे सामान्य छलफल गरेका थिए। आज विस्तृत छलफल गर्ने गरी बैठक सकिएको थियो।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २१ न्यायाधीश कार्यरत छन्।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सडकबाट राजीनामा नदिने अडानमा छन्। उनले आफू स‌ंवैधानिक प्रक्रियाबाट आएको र त्यही बाटोबाट जाने अभिव्यक्ति दिँदै आएका छन्। 

न्यायाधीश र वकिलको आन्दोलनले हजारौं सेवाग्राही भने न्याय पाउनबाट बञ्चित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.