|

काठमाडौं : तिहारका लागि आवश्यक फूल र मालाको मूल्य गत सालको भन्दा महँगो भएको छ। गत साल सयपत्री फूलको माला प्रतिगोटा १०० देखि १५० रुपैयाँमा खरिद गरेको उपभोक्ताहरुले यस वर्ष  १५० देखि २०० रुपैयाँमा खरिद गरेको बताएका छन्।  

तिहार सुरु भएसँगै बजारमा फूल तथा माला किन्नेको भिड लाग्न थालेको छ। पसलको ढोका सजाउन, घर सजाउन साथै दिदीबहिनीले दाजुभाइलाई भाइटीकाका दिन लगाइदिन माला प्रयोग गरिन्छ।  किसानको बारीबाट प्रतिमाला ५० रुपैयाँमा ल्याउने व्यापारीहरुले आफूखुसी मूल्य राख्न थालेका छन्। 

फ्लोरिकल्चर एसोसिएसनले मखमलीको माला प्रतिगोटा ३५‚ सयपत्रीको ५५ रुपैयाँ र गोदावरीको ३५०  निर्धारण गरेको छ। तोकिएको मूल्यमा १० प्रतिशत बढी नाफा राखेर व्यापारीले बेच्नसक्ने एसेसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। व्यापारीले अस्वभाविक मूल्य बृद्धि गर्न नहुने एसेसिएसनका अध्यक्ष तामाङ बताउँछन्।

तर‚ व्यापारीहरुले एसोसियसनले तोकेको माला तथा फूलको मूल्यलाई बेवास्ता गरेका छन्। बजारमा १५० रुपैयाँभन्दा घटीमा कुनै पनि माला खरिद गर्न नपाइने उपभोक्ताको गुनासो छ।  

नेपालमा हरेक वर्ष करिब ४० लाख वटा माला उत्पादन हुन्छ। तर‚ तिहारको बेला त्यति उत्पादनले धान्न सकिँदैन। यसवर्ष तिहारको बेलामा साढे दुई लाख वटा सयपत्री माला भारतबाट ल्याउनुपर्ने अवस्था छ।

हरेक वर्ष फूलको माग बढ्दै गइरहेको छ। असार साउन, भदौ र असोजमा मात्र भारतबाट सयपत्री  ल्याइँदैन। एसोसिएसनका अध्यक्ष तामाङका अनुसार काठमाडौं उपत्यकामा  १० लाख र उपत्यकाबाहरि आठ लाख हाराहारीमा माला खपत हुने गर्दछ।

मखमली निर्यात,सयपत्री गोदावरी आयात 

नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर छ। मखमली फूल निर्यात हुने गरेको छ। तर‚ सयपत्री अपुग हुन्छ। तिहारको वेलामा डेढ लाख मखमली फूलका माला भारतमा निर्यात भइरहेको छ। नेपालमा उत्पादित मखमली फूलको माला अमेरिका, जापान, भारत, अस्ट्रेलियालगायत देशमा निर्यात हुने गरेको हो।

त्यस्तै, तिहारको वेलामा १५ हजार गोदावरी उत्पादन हुन्छ। अन्य फूलको प्रयोग बढी हुने भएकाले गोदावरीको थोरै उत्पादनले पनि धान्ने व्यवसायीहरूको भनाइ छ। त्यस्तै, तिहारको वेलामा बढी प्रयोग हुने सयपत्री भने आयात हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.