|

म्याग्दी : धवलागिरी हिमालको फेदमा हरियो खर्क छ। त्यही खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले भेडीगोठ राखेका छन्।

गोठमा रहेका पाँच सय भेडाबाख्राको सुरक्षा कुकुरले गर्दै आएका छन्। चार वर्षदेखि भेडापालन गर्दै आएका छन्त्यालको गोठमा अहिले करिब पाँच सय वटा भेडाबाख्रा छन्।

ती भेडाबाख्रा हेर्नका लागि उनले पाँच वडा भोटे कुकुर पालेका छन्। कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जंगली जनावरको चाल थाहापाएपछि भुकेर गोठालोहरूलाई संकेत गर्ने काम कुकुरले गर्ने उनको भनाई छ।

‘कुकुर भएपछि यो वनको बीचमा रहेको गोठमा हामी रातभरी सुत्न पाउछौँ, भेडाबाख्रा पनि सुरक्षित हुन्छन्।’ उनले भने, ‘बिहान कुकुरलाई खाना दिएपछि छोडिदियो दिनभरी भेडाबाख्रासँगै वनमा जान्छन् अनि साँझ भेडासँगै गोठमा आउछन्।’

हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा व्यवसायिक रुपमा भेडाबाख्रा पालन गरिएको छ। गोठ वन जंगलको बीचमा हुने र गोठालाहरू पनि कम हुने भएकाले भेडाबाख्राको सारथी कुकुर हुने गरेका छन्।

जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको व्यवसायीहरूको भनाई छ। हिमालको फेदीमा वनमा पालिने भेडाबाख्रको सारथी कुकुर भएका छन्। पछिल्लो समय मानिसहरू आफ्नो घरमा शोखको रुपमा पाल्ने कुकुर भेडीगोठमा भने भेडाको रक्षाका लागि पाल्ने गरिएको छ।

‘तीन वर्षसम्म मेरो गोठमा कुकुर थिएनन्’ छन्त्यालले भने, ‘त्यतिबेला चितुवा, बाघ लगायतका जंगली जनावरहरूले ३० भन्दा बढी भेडाबाख्रा खाइदिए, यो वर्ष रुकुमबाट एउटालाई ६० हजार हालेर कुकुर लिएको छु, अहिले मसँग पाँच वटा कुकुर छन्, यी कुकुरले नै भेडीगोठको सुरक्षा गरिरहेकाले मलाई ढुक्कै छ।’

छन्त्यालका अनुसार अहिले उनीसँग भएको एउटा कुकुर ब्याउने छ। पोखराका एक व्यक्तिले कुकुर व्याएपछि छाउरा लैजाने गरी  एउटा छाउराको १० हजार अग्रिम बैना दिएका छन्।

कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुदै आएको व्यवसायीको भनाई छ। एउटा कुकुरको मूल्य ३० हजारदेखि ६० हजार सम्म पर्ने गरेको छ।

मानिसलाई हेरालु राख्दा खर्च बढी हुने र जंगली जनावरबाट बचाउन पनि नसकिने भएकाले भेडी गोठमा कुकुर अनिवार्य हुनुपर्ने भेडा हेरालु धनबहादुर विक बताउछन्।

‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सक्दैनौं, हामी जान नसकेको ठाउँमा कुकुर पुग्छन्, जंगली जनावरबाट हामीले भन्दा बढी कुकुरले नै सुरक्षित राख्छ’ उनले भने, ‘कुकुर भएन भने हामी पनि बस्न सक्दैनौ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.