|

पर्सा : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई मधेशी जनताले दण्डित गर्नुपर्ने बताएका छन्। वीरगन्ज आइपुगेका वरिष्ठ नेता महतोले मंगलबार सञ्चारकर्मी सामु यस्तो बताएका हुन्।

‘खासमा जसपा अध्यक्ष उपेन्द्र यादलले मधेशलाई तोड्ने र झार्ने काम गरेकाले मधेशी जनताले उपेन्द्र यादवलाई दण्डित गर्नुपर्छ’, उनले भने, ‘मधेशी जनताको भावनाअनुसार ठूलो मेहनतका साथ जसपा पार्टी निर्माण गरेका थियौं।’

अध्यक्ष यादवको स्वार्थका कारण एकता तोड्ने काम भएको उनको तर्क छ। आगामी निर्वाचनमा पनि अध्यक्ष यादवका कारण चुनावी तालमेल हुन नसक्ने नेता महतोले बताए। उनले जसपा बाहेकका दलसँग भने चुनावी तालमेल गर्ने बताए।​

१८ दिन उपप्रधानमन्त्री हुँदा ३० वर्षमा नभएको काम

महतोले आफूले १८ दिन उपप्रधानमन्त्रीको हुँदा ३० वर्षमा नगरेको अधिकार प्रयोग गरेको बताए। उनले उपप्रधानमन्त्रीको कुर्सी नश्लवादी शासक बस्ने भएको पनि दाबी गरे।

‘एकलजातीय बस्ने कुर्सीमा बसेर बहुलताको कुरा गर्दा देशमा आगो लाग्यो, पुत्ला जल्यो, प्रचार प्रसार भयो नि त। मैले त्यो प्रयोग गरें, आगामी दिनमा पनि गर्ने हो। देश टुक्र्याउने कुरा गरेको होइन। मधेश आन्दोलनका बन्दीका मुद्दा फिर्ता र नागरिकता प्राप्तिका कुरा त प्राविधिक कुरा हुन्’, उनले भने।

बहुलताका कुरा छोडे प्रचण्डले

माओवादीका अध्यक्ष प्रचण्डले पनि बहुलताका कुरा उठाए पनि पछि छोडेको महतोको आरोप छ। आफूले ३० वर्ष बोलेको कुरा कसैले नसुनेको उनको गुनासो थियो।

‘एकल जाति बस्ने कुर्सीमा बसेर बोल्दा मेरो कुरा दुनियाँको कानमा तुरुन्तै पुग्यो। एउटा बहुलताको कुरा गर्ने मधेशीले त्यो कुर्सीको प्रयोग गरें’‚ उनले तर्क गरे।

यस्तो कुरा गर्दा एमाले, कांग्रेस र माओवादी जस्ता एकल जातीय शासन गर्नेले आफूलाई देश निकाला र नागरिकता बदर गर्न सक्ने दाबी गरे। ‘जनताको अधिकार माग्दा गोली खानु परे पनि कुर्बानी दिन तयार छु’,  उनले भने।​

जरुरत पर्‍यो नागरिकता बनाएँ

नेता महतोको नागरिकताको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले मलाई जरुरत परेका वेला नागरिकता बनाएको बताए।

मधेशको माटोमा जन्मिएका कारणले नागरिकता बनाएको चर्चा गर्दै यो जवाफ दिइराख्नु विषय नभएको दाबी गरे।

‘नागरिकता भनेको राज्यद्वारा बनाइएको कृत्रिम कुरा हो। आफ्नो पहिचान मेटाएर राष्ट्रको पहिचान बनाइएको हो। मधेशीको प्राकृतिक पहिचान त मेटियो नि? देश विदेशमा नेपाली भएर गौरव गर्न त पहिचान पाइएको छ तर आफ्नो प्राकृतिक पहिचान त हराएको छ’, उनले जिकिर गरे।

भारत बिहारको केहर्वामा तपाईँको घर होइन? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आफ्ना आफन्त सबै त्यहाँ र भारतका अरू ठाउँमा पनि रहेको स्वीकार गरे। मधेशमा बस्ने हरेक घर–घरको सम्बन्ध भारतमा रहेको भन्दै यसमा धेरै कुरा गरिराख्नु आवश्यक नभएको उनको कथन छ।​

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तुरुन्त राजीनामा दिनुपर्ने उनको सुझाव छ। मुद्दा फर्छ्यौट पनि सेटिङमा गर्न मिल्छ? भन्दै उनले प्रश्न गरे। उनले न्यायालयको साख गिर्नु लोकतन्त्रमाथिको प्रहार भएको बताए। ‘यस्ता कुरामा प्रधानन्यायाधीशले राजीनामा दिएर तुरुन्त बाटो प्रशस्त गर्नुपर्छ’‚ नेता महतोले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.