|
कतारविरुद्ध शृंखला क्लिन स्विप गरेको नेपाली महिला क्रिकेट टोली।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो टी-२० अन्तरराष्ट्रिय सिरिज 'क्लिन स्विप' गरेको छ।

टोलीले कतार विरुद्धको ३ खेलको टी-२० अन्तरराष्ट्रिय सिरिजको अन्तिम खेलमा कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरेसँगै सिरिज ३-० ले कब्जा गरेको छ।

दोहास्थित वेस्टएन्ड पार्कमा बिहीबार भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो।

पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनायो।

नेपाली महिला टोलीले टी-२० अन्तरराष्ट्रियमा बनाएको यो सर्वाधिक रन हो।

जवाफमा कतारले पूरै २० ओभर खेले पनि नेपाली बलरसामु खुलेर खेल्न असफल भयो।

उसले निर्धारित ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो।

उसका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान आयेशाले १३ रनको योगदान गरे।

नेपालका लागि कप्तान रुबिना क्षत्री, सरस्वतीकुमारी चौधरी र सबनम राईले समान १/१  विकेट हात पारे।

नेपालका लागि करिअरको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा सीता राना मगरले सर्वाधिक ८२ रनको अविजित इनिङ खेलिन्।

उनले ७२ बलमा ७ चौका प्रहार गरिन्। उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनिन्।

त्यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन्। काजल श्रेष्ठ १२ रनमा आउट हुँदा सरिता मगर १७ रनमा अविजित रहिन्।

कतारकी एन्जेलिन मारे,  साची ढाटवाल र आयशाले १/१ विकेट लिएका थिए।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो।

नेपालले आइसिसी महिला टी-२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप कतारसँग सिरिज खेलेको हो।

विश्वकप छनोटमा नेपालले २२ देखि २८ नोभेम्बरसम्म दुबईमा प्रतिस्पर्धा गर्दै छ। नेपाली टिम कतारबाट शुक्रबार दुबई प्रस्थान गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.