|
फाइल तस्वीर

कञ्चनपुर : बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शुक्लाफाँटा नगरपालिकाले खोप कार्यक्रम प्रभावकारी बनाउन पहल गरेको छ।

खोप लगाउने उमेरका बालबालिका सबैले खोप लगाउन पाउने गरी खोप कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाका १२ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाटै खोप लगाउने व्यवस्था गरिएको छ।

नगरपालिकाका ३ वटा वडामा स्वास्थ्य चौकी, एउटामा शहरी स्वास्थ्य केन्द्र र ८ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छन्।

नगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेपछि बालबालिका खोपको पहुँचमा पुगेका हुन्।

‘दुई वर्षअघि तोकिएका केन्द्रबाट मात्र खोप लगाउने व्यवस्था गरिएको थियो,’ नगरपालिकाको स्वास्थ्य शाखाका वरिष्ठ अहेव अधिकृत हरि नाथले भने, ‘हाल नगरपालिकाका १२ वटै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेपछि त्यहीँबाटै बालबालिकालाई खोप दिने व्यवस्था छ।’

उनका अनुसार स्वास्थ्य चौकी टाढा हुदा खोप लगाउन निकै सास्ती खेप्नुपर्ने अवस्था थियो। कतिपय बालबालिका खोप लगाउनबाट छुट्ने गरेका थिए।

अझै पनि विपन्न परिवारका बालबालिका खोपबाट छुट्ने गरेका छन्। मजदुरी गर्न केही परिवार बालबालिकासहित घरभन्दा टाढा जाने हुँदा खोप लगाउनबाट छुट्ने गरेका छन्।

खोपको पहुँचमा पुग्न नसकेका बालबालिकालाई खोप दिन नगरपालिकाले विपन्न परिवारलाई रोजगारीको व्यवस्था गरी बालबालिका घरमै बस्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

३ वर्षयता बालबालिकामा खोपको कभरेज बढेको अधिकृत नाथले बताए। उनका अनुसार आब ०७५/७६ मा ६३ देखि ७७ प्रतिशत बालबालिका मात्रै खोपको पहुँचमा रहेका थिए भने आव ०७६/७७ मा त्यो संख्या बढेर ६५ देखि ७८ प्रतिशत सम्म पुगेको थियो।

आब ०७७/७८ मा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ७४ देखि ८६ प्रतिशतसम्म पुगेको छ। टिडी दुई र टिडी दुई प्लस खोप लगाउने गर्भवती महिलाको संख्यासमेत बढेको छ।

 आव ०७५/७६ मा ८ सय २३, आव ०७६/७७ मा ८ सय ५८ र आव ०७७/७८ मा ९ सय ७६ गर्भवतीले टिडी दुई र टिडी दुई प्लस खोप लगाएका छन्।

‘बालबालिकामा सरुवा रोग नियन्त्रण गर्न नियमति खोप अनिवार्य लगाउनु पर्छ,’ पिपलाडी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बसन्त धामीले भने, ‘जसबाट बालबालिकालाई स्वास्थ्यमा नकारात्मक असर पर्नबाट जोगाउन सकिन्छ। लहरे खोकी, भ्यागुते, क्षयरोग, पोलियो, दादुरा रुवेला, धनुषटंकार लगायतका सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत, खकार आदिबाट सर्ने गर्दछन्।’

सरुवा रोगविरुद्ध शरीरमा प्रतिरोधात्मक क्षमता विकास गर्न खोप लगाउनु पर्ने उल्लेख गर्दै उनले खोप पूर्णतः निःशुल्क रहेको बताए।

शिशु जन्मनासाथ बिसिजी, ६ सातापछि पोलियो, एफआइपिभी पिसिभी, डिपिटी, हेपबी, हिवरोटा र १० सातापछि पोलियो, पिसिभी, डिपिटी, हेपबी हिवरोटा खोप लगाइने गरेको छ।

यसैगरी, शिशु १४ साताको भएपछि पोलियो, एफआइपिभी, डिपिटी, हेपबी, हिवरोटा, ९ महिनामा पिसिभी, दादुरा रुवेला, १२ महिनामा जापानी इन्सेफ्लाइटिस खोप लगाइने गरेको छ।

शिशुको उमेर १५ महिना पुगेपछि दादुरा रुवेला खोप लगाइन्छ।

स्वास्थ्यकर्मीहरूका अनुसार खोप निःशुल्क हुनुका साथै सुरक्षितसमेत छ। यसले बालबालिकाको जीवन रक्षा गर्न मद्दत पुर्‍याउँछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.