|

काठमाडौं : भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री आफूले कहिले नदेखेको बताएका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

'एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको देखेको थिइनँ। भारतमा पनि यस्तो देखेको थिएन,' उनले भने।

पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको अध्यक्षतामा दुईपटक प्रधानमन्त्री बनेका केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्दसमेतको नाम उल्लेख गर्दै उनले यस्तो बताए।

पूर्वप्रधानमन्त्री मात्र नभएर प्रमुख राजनीतिक दलका नेताहरू एकै स्थानमा भेला भएको भन्दै उनले कांग्रेस महाधिवेशन उद्घाटन समारोहको प्रशंशा गरेका थिए। उनले भारत र नेपालको सम्बन्ध आत्मा र दिमागजस्तो भएको उल्लेख गरे।

‘हाम्रो संस्कृति र हिन्दुत्व वर्षौंदेखि कायम रहँदै आएको छ', उनले भने, ‘यहाँका मान्छेलाई दुःख हुँदा त्यसको बढी दुःख भारतलाई हुन्छ। भूकम्पका बेला हाम्रा प्रधानमन्त्री निकै चिन्तित हुनुहुन्थ्यो। उहाँले ६ घन्टाभित्रै सहयोग पठाउनु भएको थियो।’

कोरोना महामारीका विरुद्धमा पनि भारतले नेपाललाई प्राथमिकतामा राखेर सहयोग गरेको उनको भनाइ थियो।

यस्तै भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताए।

उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिए।

उनले भने, ‘सोनिया गान्धीको तर्फबाट देउवालाई पत्र दिएको छु। सोनिया गान्धी आएको भए निकै खुशी हुनुहुन्थ्यो तर दिल्लीमा लोकसभाको चुनाव भएकोले उहाँ आउन सक्नु भएन।’

कांग्रेस महाधिवेशनमा भारतबाट दुई नेता शुभकामना दिन सहभागी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.