|

काठमाडौ‌ँ : जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा जारी राखेको छ।

चौथो चरणअन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। फ्रेन्ड्स क्लबको जितविहीन यात्रा भने जारी रह्यो। प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो हार हो।

मनाङले ४१ औँ मिनेटमा खेलमा अग्रता बनाएको थियो। अञ्जन विष्टले दिएको पासलाई ओलावाले आफिजले छातीले रोक्दै हेडमार्फत आकर्षक गोल गरे। अनमार्क आफिजको प्रहार रोक्ने प्रयास गरे पनि फ्रेन्ड्स गोलरक्षक सफल भएनन्।

मनाङले दोस्रो गोल भने खेलको दोस्रो हाफमा सम्भव बनायो। ७३ औँ मिनेटमा पुजन उपरकोटीको फ्री किकमा दिनेश राजवंशीले गरेको हेड गोलमा परिणत हुँदा मनाङले सहज जित निकाल्यो।

त्यसअघि पहिलो हाफ र दोस्रो हाफमा अधिकांश समय मनाङले खेल आफ्नो नियन्त्तणमा राखेको थियो। सुरुवातबाटै दबाब दिए पनि मनाङले गोलका लागि पहिलो हाफको अन्तिम समय नै कुर्नु पर्‍यो।

त्यसअघि आठौं मिनेटम} डिबक्सभित्रको फ्री किकलाई सरोज योन्जनले बचाए। त्यसपछि पनि मनाङले निकै राम्रा प्रहार गरेको थियो।

दोस्रो हाफमा पनि मनाङले लगातार दबाब बनायो। ६० औँ मिनेटमा ओलावाले आफिजले गोलको राम्रो मौका चुकाए। त्यस्तै ८१ औँ मिनेटमा एडिलाज सोमिडेले गरेको प्रहार पनि सफल हुन सकेन।

फ्रेन्ड्सले भने खेलको अन्तिम समयमा गोलको अवसर पाएको थियो तर सफल हुन सकेन। फ्रेन्ड्सले खेल सकिन ३ मिनेट बाँकी हुँदा गरेको गोल अफसाइड हुँदा अग्रता घटाउने मौका फ्रेन्ड्सले चुकायो।

जितपछि मनाङ १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। मनाङको ४ खेलबाट ३ जित र १ बराबरी सहित १० अंक हुँदा फ्रेन्ड्स भने चार खेलबाट दुई बराबरी र दुई हारका साथमा २ अंक बटुल्दै १२ औँ स्थानमा छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.