|

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । 

मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र बसन्त मानन्धरलाई मन्त्री बनाउँदैछन्। 

हालसम्म मन्त्री बन्नेहरूको नाम टुंगो लागेपनि को–को कुन मन्त्री बन्दैछन् भन्ने जानकारी नआएको हुमागाईँले बताए । उनले मन्त्रिपरिषद् विस्तार हुन लागेको र आफू पनि मन्त्री बन्न लागेको जानकारी आए पनि कुन मन्त्री बन्न लागेको र कतिबेला शपथग्रहण हुँदैछ भन्ने जानकारी नआएको बताए । 

नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने पक्का भएको जनाइएको छ । नेपाली कांग्रेसले भने अझै महाधिवेशन नसकिएकोले अहिलेको मन्त्रिपरिषद् विस्तारमा सहभागी नहुने जनाएको छ ।  

मंगलबार नियुक्त हुन लागेका ६ जनामा केहि मन्त्री र केही राज्य मन्त्री बन्ने स्रोतले जनाएको छ । कांग्रेस स्रोतले जनाएअनुसार अर्को पटक कांग्रेसका ३ जना मन्त्री र दुईजना राज्यमन्त्री बन्नेगरी पुनः मन्त्रिपरिषद् विस्तार हुनेछ ।  

मुख्यमन्त्री पाण्डेले गठबन्धनमा भागवण्डा मिलाउन हालै मन्त्रालयको संख्या बढाएर ८ बाट १४ पुर्‍याएका थिए । मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेर साँझ ५ बजे शपथग्रहण गराउने तयारी गरेका छन् । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.