|

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन सकिएपछि पदाधिकारी चयन थाँति राख्दा नेतृत्वमा आकांक्षीको संख्या दिनदिनै बढ्दै गएको छ।

अधिवेशनताका प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई  (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी समितिको पहिलो बैठकमा  प्रदेशको अध्यक्षबाट ‘ब्याक’ भएका थिए।

अध्यक्षका दाबेदार ३  केन्द्रीय सदस्यले प्रदेश अध्यक्षबाट ब्याक भएपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरे ।

प्रदेश १ समितिको बुधबार बसेको बैठकले पदाधिकारी टुंगो लगाउन नसक्दा नेतृत्व छनोटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सह–इन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गर्‍यो।

तर, कार्यदलले काम सुरु गरेसँगै नेतृत्वमा दाबी गर्नेको संख्या बढ्दै गएको हो।

यस्तै अध्यक्षमा दाबी गर्नेमा झापाका माओवादी नेता मणिकुमार राई पनि रहेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै साइजमध्ये ठूलो म पनि हो भन्दै अध्यक्षमा आफ्नो दाबी रहेको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै लेखेका छन्, ‘तीन जना केन्द्रीय सदस्य कमरेडहरु अध्यक्षको उम्मेदवार हुँदा मेरो सिनियर उपाध्यक्षको सशक्त दाबी थियो। तर, हिजोबाट प्रक्रिया जटिल बनिसकेको छ। (एउटै साइजबाट  ठूलो छान्ने) अब एउटै साइजमध्ये ठूलो म पनि हो । त्यसैले मेरो अध्यक्ष पदमा सशक्त दाबी रहेको कुरा तपाईंसामु जाहेर गर्दछु। हिजो बनाइएको कतिपय केन्द्रीय सदस्य कमरेडहरु हामीभन्दा सबै हिसाबले जुनियर हुनुहुन्थ्यो। अब फेरि उहाँहरुलाई हाम्रो अध्यक्ष नबनाइयोस्। मलाई लाग्छ- म घाइते योद्धाहरुको राष्ट्रिय नेता हो, म १ नम्बर प्रदेशको सदस्यहरुमा सिनियर नेता हो। र म ४० वर्षमुनिको नेता पनि हो। यसकारण मेरो अध्यक्ष पदमा सशक्त दाबी छ। अरु क्रियाशीलता, क्षमतालगायत अन्य कुराको मूल्यांकन गर्ने जिम्मा तपाईको हातमा छ। बाँकी कुरा छलफलमा गर्नेछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.