|

धनगढी : नेकपा एमालेका नेता डा भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टीका धेरै नेता कार्यकर्ता अन्यायमा परेको आरोप लगाएका छन्।

गृहजिल्ला अछामको बान्‍नीगढी जयगढ गाउँपालिकामा शुक्रबार कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन्।

उनले पार्टी नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टीभित्रका केही नेता चोइटिएर गएको उल्लेख गरे।

पार्टीमा आएको फुटमा अध्यक्ष ओली र नेता नेपाल नै मुख्य जिम्मेवार भएको उनको आरोप थिए।

यस्तै डा रावलले पार्टीको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको दाबी पनि गरे।

व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्‍न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको उनले बताए।

उनले आफूलाई कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिए।

यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए।

लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता र कार्यकर्ता एकताको पक्षमा रहँदा पटकपटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको उनको भनाइ छ।

विगतमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला आफूले पार्टीभित्रका समस्या समाधानका लागि विद्रोह गरेको तर, पार्टीको हितविपरीत काम नगरेको उनको दाबी छ।

उनले नेकपा एमालेमा रहेको विवाद समाधान गर्न र पार्टीलाई सुदृढीकरण गर्न आफूले अध्यक्षमा उम्मेदवार दिएको तर आन्तरिक प्रतिस्पर्धामा पराजित भएको स्मरण गरे।

निर्वाचनमा  हारजीत स्वाभाविक रहेको भन्दै नीति र राजनीतिमा नहारेको दोहोर्‍याउँदै जनतालाई कत्ति पनि विचलित नभएर जनताको माझमा आएको उनले बताए।

उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनतर्फ लाग्न निर्देशनसमेत दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.