|

भोजपुर : जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवनको निर्माण थालिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटसहित रु. तीन करोड ३२ लाख लागतमा व्राइटबुल यूडी विल्डर्स जेभीले क्वाटर भवन निर्माण थालेको हो।

भवन निर्माणको हालसम्म भौतिक प्रगति ५० प्रतिशत रहेकोले सम्झौता अवधिअगावै सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। 

निर्माण शुरु भएको छोटो अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीको भनाइ छ। सम्झौताअनुसार निर्माण अवधि २०७९ सालको फागुनसम्म रहेको भए पनि गुणस्तरीय ढंगले निर्माण गरेर त्योभन्दा अघि नै सरकारलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले दाबी गरेको छ।

निर्माणको सम्झौता २०७८ को भदौ महिनामा भएको हो। भवनलाई यहि चैत्र महिनामा सक्ने यदि कुनै कारण बस सम्भव नभएमा २०७९ को ज्येष्ठभित्रमा सम्पूर्ण काम सकेर बस्न लायक भवन बनाएर जिम्मा लगाउने कम्पनीले जनाएको छ।

निर्माणको जिम्मा लिएको व्राइटबुल यूडी विल्डर्स जेभीका प्रतिनिधि उत्तम खड्काले भने,‘कामको थालनी गरेको छोटो अवधीमा करीब ५० प्रतिशत बढी भौतिक प्रगति भएको छ। कामलाई तोकिएको समयवधि आगावै सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं। म आफू पनि स्थानीय भएकाले यहाँको नर्सिङ आवासको  समस्या चाडो हटाउनु हाम्रो पनि दायित्व हो। त्यसैले कामको रफतारलाई बढाएका छौं।’

मुख्य गरेर यहाँ कार्यरत नर्सहरुलाई लक्षित गरेर भवन निर्माणको काम थालिएको हो। भित्तामा पर्खाल लगाउने, जग बसाल्ने लगाएत काम गत भदौ महिनाबाट थालिएको भए पनि मुख्य क्वाटर भवन निर्माणको काम भने कात्तिक महिनाबाट शुरु भएको हो। भवनको पहिलो तला ढलानको काम सकिएको छ।

दुई तलाको भन्ने भवनमा आठ परिवारलाई बस्न मिल्ने गरि आवश्यक सुविधासम्पन्‍ न संरचनाहरू निर्माण हुने अस्पतालले जनाएको छ।  भवनको  कामलाई गुणस्तरीय बनाउनको लागि तोकिएको मापदण्डअनुसारको सामग्री मात्र प्रयोग गरिएको सघनशहरी तथा भवन निर्माण आयोजना कार्यालय धनकुटाले जनाएको छ।

प्रयोगमा ल्याएइका सामग्री ल्याव टेस्ट गरेर, इन्जिनियरको प्रत्यक्ष निग्रानीमा काम भइरहेको कार्यालयको भनाइ छ। सघनशहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर नवल किशोर चौधरीले भने,‘भवनलाई तोकिएको मापदण्डअनुसारको सामग्री मात्र प्रयोग गरिएको छ।

गुणस्तरलाई ध्यानमा राख्दै यहाँ प्रयोगमा आउने, बालुवा, गिटी, सिमेन्ट लगाएको ल्याव गरेका छौं। निर्माणका क्रममा हामीले प्रत्यक्ष निग्रानी गरिरहेका छौं। यो भवन गुणस्तरिय ढंगले समयमा सम्पन्न हुनेमा कार्यालयको तर्फबाट पनि काम भइरहेको छ।’

पहाडी जिल्ला एवं आवश्यक सुविधा कम हुँदा स्थास्थ्यकर्मी तथा डाक्टरहरु कमैले मात्र यहाँ बस्न रुचाउने गरेका छन्। जसको कारण यहाँको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको अवस्थासमेत छ। केही समय यहाँ बस्ने त्यसपछि शहरका सुविधायुक्त ठाउँमा सरुवा हुने चलन रहदै आएको छ। आवाससँगै अन्य सुविधामा सुधार गर्ने काम भएकाले अव त्यो समस्या कम हुनेमा स्थानीय आशावादी बनेका छन्।

 आवास भवन नहुँदा जिल्ला अस्पतालका नर्सहरूलाई बस्नको लागि समस्या हुँदै आएको थियो। क्वाटर निर्माण सम्पन्न भएपछि वर्षौंदेखि बासको समस्या झेल्दै आएका यहाँका नर्सहरुको सहजता हुने अस्पतालले जनाएको छ।

डाक्टरहरुको लागि भने क्वाटर भवन निर्माण भइसहेको छ। पहिला कच्ची भवनबाट सेवा दिँदै आएको अस्पतालको अहिले पक्की भवन बनेको छ।

यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र , तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.