|

काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङदी क्लबलाई १-० ले पराजित गरेको छ। अतिरिक्त समयमा सुनिल वलले गरेको सानदार फ्रीकिक सीधै गोलमा परिणत हुँदा मनाङ स्तब्ध बनेको थियो। जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ।

जारी लिगकै सर्वाधिक दर्शक उपस्थित रहेको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले निर्धारित समय गोलरहित बराबरी खेले पनि मच्छिन्द्रका लागि पाँच मिनेट थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा सुनिल वलले डि बक्सभन्दा निकै बाहिरबाट गरेको सानदार फ्रीकिक गोलमा परिणत भएको थियो।

त्यसअघि पहिलो तथा दोस्रो हाफमा दुबै टोलीले गोलका राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन्। मनाङले मच्छिन्द्रलाई पहिलो हाफमा तुलनात्मक रूपमा दबाबमा राखे पनि दोस्रो हाफमा भने मच्छिन्द्र मनाङसँग खेलमा फर्किएको थियो।

खेलको दोस्रो मिनेटमै मनाङका लागि अञ्जन विष्टको पासलाई समिडोले गरेको प्रहार पोस्टभन्दा केही इन्च टाढाबाट बाहिरिएको थियो।

१३ औँ मिनेटमा मनाङले अर्को राम्रो अवसर बनाएको थियो। पुजन उपरकोटीको शक्तिशाली फ्रीकिकलाई गोलरक्षक विशाल श्रेष्ठले क्लियर गर्दै मच्छिन्द्रको संकट टारेका थिए।

यद्यपि त्यसपछि पनि खेलमा मनाङले दबाब बढाए पनि गोलको मौका भने सिर्जना गर्न सकेन। घरेलु फुटबलमा दुबै दाबेदार क्लबका समर्थक ठूलो मात्रामा सपोर्टका लागि मैदान पुगे पनि पहिलो हाफमा गोलको खुशी मनाउन भने पाएनन्।

३९ औँ मिनेटमा मच्छिन्द्र क्लबले राम्रो अवसर पाएको थियो। सुनिल वलको क्रसलाई नोर्लानले डिबक्स बाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार केही इन्चबाट बाहिरिँदा मच्छिन्द्रले सम्भावित अग्रता गुमाएको थियो।

यो खेल एएफसी कपका लागि समेत महत्त्वपूर्ण मानिएको थियो। मनाङलाई पराजित गरेसँगै मच्छिन्द्रले एएफसी छनोटको सम्भावना कायम राखेको छ। मच्छिन्द्रको जितले अब आर्मीका लागि पनि एएफसी कपको छनोट सम्भावना कायम राखेको छ।

जितसँगै अंक तालिकामा मच्छिन्द्रले ६ खेलबाट १३ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिदा मनाङ १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ। त्यस्तै एक खेल कम खेलेको आर्मीको ९ अंक भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.