|

धनकुटा : धनकुटामा शनिबारदेखि जिल्ला स्तरिय वाइवाई डाइनामाइट ए डिभिजन सुपर लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

धनकुटा जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ। स्वास्थ्यका प्रतियोगिताको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यस्ता प्रतियोगिताले युवाको प्रतिभाको संरक्षण हुने बताए। उनले फुटबलको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताए।

ए डिभिजन सुपर लिगमा ६ टिमको सहभागिता रहेको छ भने बी डिभिजन नकआउट फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए। धनकुटा फुटबल संघमा १७ टिम आवद्ध रहेकोमा बी डिभिजनमा रहेका भेडेटारको पाथिभरा युवा क्लब सहभागि नभएको राईले जानकारी दिए।

प्रतियोगितामा ए डिभिजन सुपर लिगको विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने बी डिभिजन नकआउट फुटबल प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता ए डिभिजन सुपर लिगमा बढुवा हुने छ भने ए डिभिजन सुपर लिगको अन्तिम हुने टिममा बी डिभिजनमा घटुवा हुने धनकुटा फुटबल संघका महासचिब गोपाल लिम्बूले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.