|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने माग गरेका छन्।

मंगलबार काठमाडौंमा भएको नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका हुन्।

उनले सरकारले उद्यमशीलताको विकास र उत्पादन क्षमता नबढाएको हुनाले मानिसमा आत्मविश्वास बढ्न नसकेको दाबी गरे।

नेपालले दलाल पुँजीको दबदबा बढिरहेकाले देशमा मेहनत नगरीकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए।

उनले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताए। उनले पार्टीले पनि आफ्ना कार्यकर्ताले कसरी काम गरिरहेका छन् भनेर अनुगमन गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले भने, ‘उद्यमी युवा देखा पर्न थालेका छन्। उनीहरूलाई राज्यले प्रोत्साहन दिनुपर्छ। राज्यको नीतिमा सुधार गर्नुपर्ने आवश्यक छ। पालिकामा अर्बौं रुपैयाँको बजेट गएको छ, त्यसको सदुपयोग भएको छ कि छैन ? त्यसको कुनै अनुगमन गर्ने काम हामीले गर्न सकिरहेका छौँ ? पार्टीले पनि गरेको छैन, सरकारले पनि गरेको छैन। केन्द्रीय सरकारले प्रादेशिक, प्रदेशले स्थानीय सरकारको कामको अनुगमन गर्नुपर्छ।’

अध्यक्ष नेपालले इमान्दारी, निष्ठा र समर्पण एउटा नेताका लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्न यी काममा ध्यान दिनुपर्ने बताए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरू सरकारभन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताए।

अध्यक्ष नेपालले वंशानुगत तानाशाही प्रवृत्ति सकिए पनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताए।

अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताए। उनले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीको रूपमा नेकपा समाजवादी स्थापित भएको दाबी समेत गरे।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरुले देशमा आफूलाई योग्य र सक्षम देखाउनुपर्नेमा जोड दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.