|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा आजदेखि जलपंक्षी गणनाको कार्य सुरु गरिएको छ। निकुञ्ज भित्रका र बाह्य क्षेत्रका ताल तलैया नदीहरूमा जलपंक्षी गणनाको कार्य सुरु गरिएको हो।

आजदेखि सुरु गरिएको जलपंक्षी गणनाको कार्य माघ २ गते सम्म जारी रहने छ। जलपंक्षी गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पंछी संरक्षण संघका विज्ञहरू, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एसोसिएसनका प्रतिनिधि लगायतको सहभागिता रहेको छ।

जलपंक्षी गणनाको कार्यमा संलग्नहरूले वाइनाकुलर, टेलिस्कोप, क्यामेरा लगायतको प्रयोग गरी गणनाको कार्य गरि रहेको नेपाल पंछी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराले बताए। कुनै क्षेत्रमा स्थलगत रुपमा पुगेर र कुनै ठाउमा डुङगा लगायतमा चढेर समेत जलपंक्षी गणनाको कार्य हुने उनले बताए।

उनका अनुसार रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपंक्षी गणनाको कार्य हुनेछ।

अरु ताल र नदीमा पैदल हिडेरै गणनाको कार्य हुने भएपनि निकुञ्ज भित्रको सलगौंडी तालमा भने हात्तिमा चढेर जलपंक्षी गणनाको कार्य हुनेछ।

गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका ताल तलैयामा जलपंक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँस लगायत ४८ प्रजाति देखा परेका थिए। ताल तलैयामा जलपंक्षीको संख्या यकिन गर्ने कार्य संगै सिमसारको अबस्था बारेमा समेत अध्ययनको कार्य हुने डगौराले बताए।

यसैगरी आजै देखि कैलालीको ताल तलैया र सिमसार क्षेत्रमा समेत जलपंक्षी गणनाको कार्य सुरु गरिएको छ। घोडाघोडी ताल क्षेत्रबाट जलपंक्षी गणनाको कार्य सुरु गरिएको चरा विज्ञ डगौराले जानकारी दिए।

घोडाघोडीसहित कोहली, लोकाभौका, घोडा, सुनियारुपिया, पुरैना लगायतका ताल र कर्णाली नदीमा जलपंक्षी गणनाको हुनेछ। कर्णाली नदीमा र्‍यार्फ्टीङको प्रयोग गरी जलपंक्षी गणना हुनेछ। गत वर्षको गणनामा कैलालीका जलाधार क्षेत्रमा ३२ प्रजातिका जलपंक्षी देखा परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.