पदाधिकारीमा चर्काे रस्साकस्सी, सहमति जुटाउन गृहकार्य तीव्र

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी गर्दैगर्दा नेकपा एमालेले मंसिरमा व्यापक रुपमा महाधिवेशन गर्‍याे।

चितवनमा भएको महाधिवेशनमा एमालेले लाखौँको संख्यामा जनप्रदर्शनसमेत गर्न भ्यायाे। 

तर, सो महाधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले महाधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिन भ्याए। 

एमाले महाधिवेशनबारे टिप्पणी गर्दै प्रचण्डले भनेका थिए, ‘तपाईं हामीले एमाले नामको महाधिवेशन पनि देख्यौँ । मैले त पञ्चर्‍यालीभन्दा अरू देख्दिनँ। विचारबारे बहस गर्ने पार्टी माओवादी मात्रै हो। हिजो मात्रै कुम्भमेला देख्यौँ त्यहाँ बहस छैन। हामी विचार र बहसलाई केन्द्रमा राखेर राष्टिय महाधिवेशन सम्पन्न गछौँ। त्यहाँ केपी ओलीले नाम पढ्छन्। ताली बजायो। सक्यो।’

तर, एमाले महाधिवेशनको एक महिनापछि माओवादीले पनि महाधिवेशन आयोजना गर्‍यो। 

१२ घण्टाअघि मात्रै सम्मेलनबाट रुपान्तरण गरिएको महाधिवेशनमा पनि उही प्रवृत्ति देखियो।

विचार र नीतिमा बहस गर्ने भन्दै एकता सातासम्म नेतृत्व चयनबिना महाधिवेशन सम्पन्न गरेको माओवादीले पनि ‘टिके प्रथा’ छाडेन।

प्रचण्डले एमाले महाधिवेशनलाई ‘पञ्चर्‍याली’को संज्ञा दिने प्रचण्डले आफ्नो पार्टीको महाधिवेशनबाट नेतृत्वसमेत दिन सकेनन्।

बरु एमाले अध्यक्ष केपी ओलीले असन्तुष्ट नेताहरूलाई निर्वाचनमा जान उदारता देखाए।

तर, प्रचण्डले त्यही बाटो पनि छेके। केन्द्रीय समितिबाट अध्यक्षमा आफैं निर्विकल्प बनेर पदाधिकारी नटुंग्याई एक साताका लागि केन्द्रीय कमिटीको बैठक नै सारिदिए। 

एमाले महाधिवेशनलाई प्रचण्डले विचारको बहस नहुने भन्दै 'ओलीले नाम पढ्ने, अरुले ताली बजाउने महाधिवेशन सक्ने' भनेर व्यंग्य गरेका थिए।  

मंसिर ११ गते पार्टीको प्रदेश सम्मेलनलाई एकसाथ भर्चुअल उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धति। निरंकुशता, विचार शून्यता र विचारहीनताको अधिवेशनका रूपमा गयो त्यो। दुनियाँले देख्यो।’

प्रचण्डले ओलीको व्यङ्ग्य गरेझैँ आफैंले पार्टीको महाधिवेशनमा अनुसरण गरे। 

तर, शिक्षामन्त्रीसमेत रहेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पदाधिकारी चयन नगरेसम्म सबै जिम्मेवारी अध्यक्ष प्रचण्डले नै सम्हाल्ने बताउँछन्। 

उनी भन्छन्, ‘अहिले सबै जिम्मेवारी उहाँले नै सम्हाल्नुहुन्छ। अब पार्टीको बैठक बसेर पदाधिकारी चयन हुन्छ। पार्टीभित्र कुनै विवाद छैन। सर्वसहमतिमै पदाधिकारी चयन हुन्छ।’

पदाधिकारी चयनको बिषयमा पार्टीभित्र धेरथोर भएको विवाद मिलाउने प्रयास भइरहेका प्रवक्ता कृष्णबहादुर महरा बताउँछन्। 

‘अब २५ गतेको केन्द्रीय समितीको बैठकले बाँकी पदाधिकारी चयन गर्छ। वर्षमानजीहरु पनि आइपुग्दै हुनुहुन्छ। पदाधिकारीको बिषयमा पार्टीभित्र देखिएको विवाद समाधान गरेर जाने प्रयास गरिरहेका छौँ’।' उनले भने। 

त्यसो त पाटी नेतृत्व चयन गर्न असफल भएको महाधिवेशनले नीतिमा बहस गरेको उनको दाबी छ।

‘पद होइन। हामीले विचारमा केन्द्रीय महाधिवेशन बनायौँ। सबै क्षेत्रलाई समेटेर समावेशी सिद्धान्त लागू गरेका छौँ। अहिले अब पदाधिकारी चयनको विषयमा पार्टीभित्र धेरै विवाद हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने। 

अध्यक्षमा प्रचण्ड निर्वाचित भइसके। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ।

वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ। महासचिवमा दाैडमा नेताहरुको बाक्लाे उपस्थिति छ।

जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेत, कृष्णबहादुर महराले आकांक्षा व्यक्त गरिरहेका छन्।

प्रचण्डले महासचिव दाबी गरिरहेका नेताहरुलाई व्यवस्थापनको लागि उपाध्यक्षमा लाने तयारी गरिरहेका छन्। 

यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ।

स्थायी कमिटीमा रहेकाे सबैलाई पदाधिकारीमा दाबी गरिरहेका छन्।

‘प्रचण्ड नभए पनि पार्टी रहन्छ’

तीन दशकभन्दा लामो समयबाट नेतृत्व गरिरहेका प्रचण्डको विकल्प नभएको केन्द्रीय सदस्य युवराज चौलागाईं बताउँछन्। 

उनी भन्छन्, ‘माओवादी मात्रै नभएर देशको राजनीति नै प्रचण्डको वरिपरि घुमिरहेको छ। त्यसैले अहिलेको परिस्थितीमा हामीले उहाँको विकल्प सोच्ने बेला भएको छैन। माओवादीमा प्रचण्डजस्तो नेतृत्व अहिल्यै अरु निस्कनेवाला पनि छैन।’

त्यसो त प्रचण्डले अध्यक्ष निर्वाचित भएपछिको पहिलो केन्द्रीय समितीको बैठकलाई भने, ‘देश र जनताको सेवा गर्ने मेरो लागि अन्तिम अवसर र चुनौती पनि हो। अब उमेर पनि भयो। आज यो जिम्मेवारी बहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीको रुपमा लिएको छु।’

नेता कार्यकर्ताहरूले अब आफूमाथि लागेको धुलो मैलो टक्टक्याएर रुपान्तरित भएर लाग्नुपर्ने संकल्प गर्नुपर्नेमा जोड दिए। 

‘देशको अवस्था र पार्टी रुपान्तरणको आवश्यकतालाई हेर्दा, राजनीति स्थिरता र पार्टीलाई सुदृढ बनाउनको लागि पार्टीमा दु:ख गरेर सक्रिय हुनुपर्ने बाध्यता छ। प्रचण्ड नभए माओवादी पार्टी के हुन्छ? भन्ने प्रश्न नै गलत हो,’ उनले भनेका थिए, ‘पार्टीले युगान्तकारी परिर्वतनको आधार तय गरेको छ। माओवादी आन्दोलन प्रभावित हुँदैन। मेरो काँधमा निकै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु।’ 

माओवादीमा मौलाएको ‘बा’ प्रवृत्ति !

प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा २५ पृष्ठको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए।

महाधिवेशनमा लेखनाथ न्यौपाने र राम कार्कीले बाहेक कसैले फरक मत राखेनन्। 

युवा नेता लेखनाथ न्यौपानेले लिखित रुपमा नै महाधिवेशनमा फरक मत राखेका थिए। उनले प्रचण्डको प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज नबोक्ने उल्लेख गरिदिए।

प्रचण्डमा उनले आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोपसमेत लगाउन भ्याए।

त्यतिमात्र नभएर एमालेमा जस्तो ‘बा’ प्रवृत्ति माओवादीभित्र पनि मौलाएको टिप्पणी गरिदिए। 

नेता पौडेलले प्रचण्डको प्रतिवेदनमाथि राखेको फरक मतमा भनिएको छ, ‘हामीले ओलीभित्रको ’बा’ प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ। तपाईं आफैं सशरीर उपस्थित भएको ठाउँमा तपाईंका लस्करै तस्वीर राख्न कसले निर्देशन दिएको हो? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्वीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला?’

यस्तै, अर्का नेता राम कार्कीले प्रचण्डको प्रतिवेदनमाथि फरक मत प्रस्तुत गरेका थिए।

पार्टीलाई अवसरवादबाट बचाउन आफ्ना गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र बन्धक बनाउन नहुने भन्दै कार्कीले प्रश्न गरेका थिए, ‘सिंगो पार्टी मूल नेतृत्वसहित संसदमा गएपछि यसलाई अवसरवादबाट जोगाउने संयन्त्र कुन हो? पार्टीलाई चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र बन्धक मात्रै बनाउने?’

दुई नेताहरुको फरक मतलाई सम्मान गर्दै २५ समूहबाट आएको निष्कर्षलाई समेटेर प्रचण्डको प्रतिवेदन हलबाट पारित गरिएको थियो। 

तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनप्रति झुटको दस्तावेज भएको आरोप लगाए। 

साेमबार राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘भर्खरै एउटा महाधिवेशन सकियो। समाजवादको नेपाली बाटो भन्ने एउटा पुस्तक पनि देखियो। कति साह्रो ढाँट्न सकेको, पार्टी फुटाउने, आफ्नो  पार्टीको सरकार ढाल्ने, अर्काको पछाडि लाग्ने मित्रलाई शत्रु घोषणा गर्ने, प्रतिस्पर्धीलाई मित्र ठान्ने अनि समाजवाद रे!’

परिवारवाद पनि उस्तै

माओवादीमा पछिल्लो समय परिवारवाद पनि मौलाएको छ। केन्द्रीय समितिमा श्रीमान र श्रीमतीको राम्रो उपस्थिति छ।

खुलाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा छन्।

शाक्य खुलाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

यस्तै गणेशमान पुनकी श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन्।

खुलाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन्।

वर्षमान खुलातर्फबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र श्रीमती बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन्।

पौडेल खुलाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

यस्तै‚ देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा निर्वाचित भएका छन्। 

देव र उनकी श्रीमती यशोदा गुरुङ सुवेदी खुलाबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन्।

दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन्।

नेता लीलामणि पोखरेल र भूमि सुधार मन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएका छन्।

पोखरेल खुलातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनिन्।

यस्तै‚ देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय समितिमा निर्वाचित भएका छन्।

पराजुली खस–आर्यका तर्फबाट र उनकी श्रीमती धमला खस–आर्य महिलाबाट केन्द्रीय समितिमा निर्वाचित भइन्।

तर‚ आरक्षण कोटामा यसअघि राज्यको उपल्लो तहमा रहेका‚ रहिसकेका‚ पार्टीका शक्तिशाली नेताका आफन्तहरू निर्वाचित भएका छन्।

आरक्षण राजनीतिमा सजिलै पहुँच नपुगेका लागि भनी छुट्याइएको हो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी बिना मगर आरक्षण कोटाबाट केन्द्रीय समितिमा निर्वाचित भएका छन्।

रेणु र नारायण खस आर्य कोटाबाट निर्वाचित भएका हुन् भने बिना आदिवासी जनजाति कोटाबाट निर्वाचित भएकी हुन्।

यस्तै‚ पूर्वसभामुख ओनसरी घर्ती आदिवासी जनजाति महिला कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

उनी माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी श्रीमती हुन्।

पूर्वमन्त्री शक्ति बस्नेतकी श्रीमती सत्या पहाडी खस-आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलकी श्रीमती बलावती शर्मा पनि खस–आर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकी श्रीमती ताराकुमारी घर्ती आदिवासी जनजाति महिला कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

यस्तै‚ पटकपटक मन्त्री रहिसकेका लीलामणि पोखरेलकी श्रीमती तथा भूमिसुधार मन्त्रीसमेत रहेकी शशी श्रेष्ठ आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.