|

काठमाडौं : आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।

आयोगले पुस २६ गते (सोमबार)बाट लागू हुने गरी राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो।

आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र राज्यका सबै निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए।

सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताए।

उनका अनुसार निर्वाचन आयोगले आफ्नो कानुनी दायित्व निर्वाह गर्न पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ।

सहसचिव धमलाले सम्बन्धित संघसंस्थाका कर्मचारीहरूलाई विदेश भ्रमण जान भने आयोगको पूर्वसहमति लिनुपर्ने बताए। सम्बन्धित उम्मेदवारदेखि, राजनीतिक दल, अन्य संघसंस्थालाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि उनले आग्रह गरे।

सहसचिव धमलाले भने, ‘आचारसंहिता भनेको नै मैले के गर्छु के गर्दिनँ भन्ने स्व घोषणा हो। यो एउटा नैतिक बन्धन हो।’

उनले निर्वाचनलाई प्रभाव पार्न सक्ने कुरा नगर्न र जाति, धर्म, भाषा, सम्प्रदायका आधारमा द्वेष, फैलाउने काम नगर्न आग्रह गरे। 

उनले भने‚ ‘जुलुस र्‍याली, सभा बैठक, सवारीसाधन प्रयोग गर्ने कुरामा, प्रचारप्रसारका माध्यमको उपयोग गर्ने कुरामा, निर्वाचन खर्च, मौन अवधि अपनाउने विषयको कुरामा, मतदानको दिन के गर्ने भन्ने कुरामा, यस्तो प्रकारले निर्वाचनको आचारसंहिता आयोगको वेबसाइटमा अपलोड गरेका छौँ।’

सहसचिव धमलाले कोरोनाले निर्वाचनका गतिविधि असर पारिरहे पनि कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्ड पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.