|

काठमाडौं : सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ। दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हो।

आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो। महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुती तय गरेको थियो।

कार्यक्रममा कलाकार नआएपछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ। तोडफोडमा उत्रिएकाहरूले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी गरेको प्रहरीले जनाएको छ।

भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ। कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भीड तोडफोडमा उत्रिएको हो।

पुष २३ गतेबाट महोत्सव संचालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो। प्रशासनको निर्देशन लत्याउँदै आयोजकले भारतीय कलाकारको प्रस्तुती तय गरी टिकट बिक्री गरेको थियो।

सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोशित बन्दा घटना भएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.