|

काठमाडौं :  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या रहेको स्थानीय तहमा काठमाडौं महानगरपालिका र सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा रहेको छ।

काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ। मनाङको नार्पाभूमि गाउँपालिकामा ४४२ जना मात्र जनसंख्या रहेको छ।

सबैभन्दा बढी जनसंख्या भएका नगरपालिकाहरुमा काठमाडौं महानगरपालिका र सबैभन्दा कम जनसंख्या रहेको नगरपालिका डोल्पाको ठूलीभेरी नगरपालिका रहेको छ। ठूलिभेरी नगरपालिकाको जनसंख्या १० हजार १८७ रहेको छ। 

काठमाडौंपछि धेरै जनसंख्या भएका नगरपालिकामा क्रमशः पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिका रहेका छन्।  सबैभन्दा कम जनसंख्या भएका नगरपालिहकाहरूमा क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालीगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ।

२० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ। एक लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको विभागले जनाएको छ। 

त्यस्तै‚ सबैभन्दा धेरै जनसंख्या भएको गाउँपालिकामा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको छ। यहाँको जनसंख्या ७० हजार ३१५ रहेको छ। १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.