यसरी किर्ते गरिरहे भने कानुनी बाटोमा जान्छु : कट्टेल

|

नेपाली राजनीतिमा चर्चित पात्र हुन् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको साबिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भंग गराउने मुद्दा सर्वोच्च अदालतमा हाल्ने उनै कट्टेल हुन्।

आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेको भन्दै अदालतमा पुगेपछि अदालतले नेकपाको एकता नै भंग गरिदिएको थियो। 

अदालतबाट पार्टीको नाम फिर्ता ल्याउने कट्टेल अहिले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन्। पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्यसमेत नरहने गरी कट्टेललाई पार्टीबाट निकाले।

​सुवेदीले विज्ञप्ति जारी गर्दै दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधानविपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख गरेका छन्। उनै कारबाहीमा परेका अध्यक्ष कट्टेलसँग थाहाखबरले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंलाई कारबाही गरेको भन्ने पत्र बाहिर आएको छ। त्यसलाई कसरी लिनुभएको छ? 

त्यो कारबाही पत्र केही होइन। दुईजना मान्छेहरू शरद विक्रम मल्ल र महेन्द्र जोशी आफैँ पार्टीबाट निष्कासित व्यक्ति हुन्। उहाँहरू पार्टीभित्र गुटबन्दी गरेको, आर्थिक अपादर्शी लगायतको आरोपमा पार्टीबाट निष्कासित भएका छन्।

उनीहरूमाथि लागेको आरोपमाथि छानविन गर्नको लागि पार्टीले आयोग गठन गरेको छ। उनीहरूले बाहिर-बाहिर स्क्यानिङ गर्दै आफ्नो मनखुसी गर्दै पार्टी अध्यक्षलाई नै निकाल्यौँ भनेर हल्ला गरेका रहेछन्। म अहिले कोरोना संक्रमित बनेर करिब दुई हप्तादेखि घरमै बसिरहेको छु। 

पत्रमा त तपाईं पार्टीविपरीत चलेपछि स्पष्टीकरण सोध्दासमेत नदिएपछि निष्कासन गरिएको उल्लेख छ नि? 

सडकले सोध्ने कुराको के अर्थ हुन्छ र? म सर्वसम्मत पार्टी अध्यक्ष हुँ। म पुसको १७ देखि १९ गतेको राष्ट्रिय सम्मेलनबाट हलले निर्वाचित गरेको छ। उहाँहरू दुईजनाले गुटबन्दी गरेर पार्टी फुटाउने षड्यन्त्र गरिरहेका छन्। पार्टीले कारबाही गरेर छानविन गरिरहेको छ। 

त्यसो त उहाँहरूलाई किन कारबाही गर्नुभयो? 

उहाँहरूलाई चारवटा आरोप छ। पहिलोः गुटबन्दी गरेको, दोस्रो: पहिलाको समूहलाई परिचालन गरेको, तेस्रोः पार्टी पद्धति र चौथोः अनुसाशन उल्‍लंघन गरेको र आर्थिक अपचलन गरेको आरोप छ।

चारवटा आरोपमा केन्द्रीय कार्यालयको तर्फबाट कारबाही गरेर केन्द्रीय कार्यालयको तर्फबाट राजेश बान्तौलाको अध्यक्षमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ। आयोगले अहिले काम गरिरहेको छ।

अध्ययनको क्रममा लोकनारायण सुवेदी पनि गुटबन्दीमा लागेको देखिएको छ। त्यसपछि कारबाहीमा परिन्छ कि भनेर पार्टी अध्यक्षलाई नै निकालेँ भन्न थालेका हुन्। कारबाहीमा परेका दुवै पार्टीको सचिवालयमा थिए। पार्टीको लेटरप्याड सबै कम्प्युटरमा छ। सही त्यहीबाट राख्दा भइहाल्यो। कम्प्युटरसँगै हुने भइहाल्यो।

लोकनारायणका छोरा कम्युटर मास्टर हुन्।  सबैकुरा उसैले बनाएको हो। पार्टीको छाप उनीहरूसँग त्यहीँ छ। सडकबाट जे पनि गरेर स्क्यानिङको भरमा पार्टी अध्यक्ष हट्दैन।

निर्वाचन आयोगलाई पनि उहाँहरूले पत्र पठाउनुभएको छ। आयोगले तपाईलाई केही भनेको छ

छैन, हामीले लगेर राष्ट्रिय सम्मेलनबाट पेश गरेको दस्तावेजहरू प्रमाणित गरेर ५१ जना केन्द्रीय समिति सूचीकृत छ। सम्मेलनले पास गरेको केन्द्रीय समितिलाई मैले प्रमाणित पठाएर निर्वाचन आयोगले अभिलेखीकरण गरेर सूचीकृत गरेको छ। अब त्यो सडकको भरले हुन्छ?

निर्वाचन आयोगमा पनि किर्ते कागजपत्र पठाएका छन्। आयोग आफैँ दंग परेको छ। साँच्‍चै भन्नुपर्दा यिनीहरूलाई किर्ते गरेको आरोपमा कानुनी बाटो खोज्नुपर्ने पो देख्‍न थालेको छु। 

भनेपछि तपाईं उहाँहरूलाई किर्तेविरुद्ध कानुनी बाटोमा जानुहुन्छ

निहुँ खोजिरहे पनि त्यो पनि गर्छ सक्छु। त्यो कुरा त निर्वाचन आयोग आफैँले गर्नुपर्ने भइसकेको छ। निर्वाचन आयोगमा जसरी कागजपत्र पेश गरेका छन्। जुन सबै किर्ते हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.