|

झापा : झापाको बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीले दिनहुँ गाउँघरमा क्षति पुर्‍याउन थालेपछि हात्तीपीडित संघर्ष समितिले डिभिजन वन कार्यालय झापामा पाँचबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ।

हात्तीपीडित संघर्ष समिति बुद्धशान्तिका अध्यक्ष भवानीप्रसाद ढकाल र सचिव सीताराम बास्तोला लगायतको टोलीले सोमबार डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केलाई ज्ञापनपत्र बुझाएका हुन्। 

हाल हात्तीले भत्काएका घर, बालीनालीको विवरण लिइ अविलम्ब राहत र पुनःनिर्माण गरिदिने व्यवस्था मिलाउनुपर्ने, हात्ती आतङ्क न्यून गर्न हात्तीलाई दिउँसै लखेट्ने व्यवस्था मिलाउनुपर्ने, वन क्षेत्रको वरिपरि सोलार फेन्सिङ जडान गरी हात्तीलाई गाउँ प्रवेशमा रोक्नुपर्ने, स्थानीयको जीउधनको सुरक्षाको प्रत्याभूति गराउन प्रभावित क्षेत्रमा वन सुरक्षा गस्ती बढाउनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ।

पीडितका माग सम्बोधन नभए चरणबद्ध आन्दोलन सडक जामदेखि सम्बन्धित सरोकारवाला निकायमा धर्ना, तालाबन्दीसमेत गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ। 

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १, २ र ३ मा ६ महिनादेखि आदर्श नमुना सामुदायिक वनमा ४ जंगली हात्तीले आश्रयस्थल बनाएका छन्।

तिनै हात्ती दैनिक राति गाउँमा प्रवेश गरी स्थानीयको अन्नबाली र घरमा राखिएका खाद्यान्न खाइदिनुका साथै घरसमेत भत्काउन थालेपछि स्थानीय भयभीत र आतङ्कित बन्दा संघर्षमा उत्रिनु परेको हात्तीपीडित संघर्ष समितिका अध्यक्ष भवानीप्रसाद ढकालले बताए। 

हात्तीले गरेको क्षतिको विवरण बुझाउने प्रक्रिया झन्झटिलो र पाउने राहत पर्खन लामो समय लाग्ने तथा क्षतिको मूल्याङ्कनभन्दा पनि साह्रै न्यून राहत राज्यले दिँदा आफूहरू झन् पीडित बन्नु परेको उनको भनाइ छ।

बुद्धशान्तिमा हात्तीको आक्रमणबाट हालसम्म २ जनाको ज्यान गइसकेको र २ जना सिकिस्त भएको संघर्ष समितिका सचिव सीताराम बास्तोलाले बताए।

२ सय ५० भन्दा बढी घर भत्काएर क्षति पुर्‍याएको उनले बताए।

उनले भने,  ‘हात्तीले फेरि कति बेला गाउँमा मान्छे मार्ने हो भनेर त्रास बढेको छ, हात्ती धपाउन गाउँवासी महिनौँदेखि राम्ररी सुत्न पाएका छैनन्।’ 

यता डिभिजन वन कार्यालय झापाका प्रमुख मास्केले जिल्लामा १३ वटा जंगली हात्ती वन वरिपरिका स्थानीय तहमा छरिएर बसेकाले हात्ती नियन्त्रण तथा रोकथाम चुनौती बनेको बताए। 

बुद्धशान्तिमा मात्र नभएर बाहुनडाँगी, कचनकवल, बाह्रदशी, चारआली, भद्रपुर र दमकमा पनि हात्तीले दैनिक आतङ्क मच्चाइरहेका छन्।

वन कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा समस्या भइरहेको छ। ‘एकातिर जनशक्ति पठाउँदा अर्कातिरबाट फोन आउँछ, गाउँमा हात्ती पस्यो भनेर, त्यहाँ पनि जनशक्ति पठाउनै पर्‍यो, समस्या नै छ,’ उनले भने।

यसबारे माथिल्लो निकायमा जानकारी गराइरहेको उनले बताए। 

‘हात्ती धपाएर पठाउनु कहाँ समस्या छ, धपाउँदा पनि फेरि यहीँ फर्किएर आउने हो,’ उनले भने, 'बुद्धशान्तिमा हात्तीले दैनिक क्षति पुर्‍याइरहेकोबारे पनि जानकारी लिइरहेको छु।'

त्यसैले त्यहाँ दैनिक जनशक्ति खटाउने गरेको उनको भनाइ छ। जनशक्ति अभावका कारण सशस्त्र र नेपाल प्रहरीसँग पनि समन्वय गरिरहेको उनले बताए।

चालु आवको माघ १७ गतेसम्म ४ जनासहित जिल्लामा हालसम्म हात्तीको आक्रमणबाट ४३ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.