शिक्षामन्त्री पनि निजी व्यापार चलाउन नदिने पक्षमा

|

काठमाडौं : ऐतिहासिक स्थल नारायणहिटी संग्रहालयको रेष्टुराँ काण्ड र पशुपति धर्मशालामा व्यापारको चर्चापछि केशरमहलको बहस शुरु भएको छ।

२०७२ सालको भूकम्पले क्षति पुगेपछि केशरमहल अहिले प्रबलीकरण (रेक्ट्रोफिटिङ)को काम नसकिँदै निजी क्षेत्रलाई सुम्पिने चलखेल शुरु भएको छ।

केशरमहल ऋतु अनुसारका कलाले भरिपूर्ण कोठा, भित्ता र झ्याल छन् तर यही ऐतिहासिक महल पहुँचवालाको आँखा त्यहाँ व्यापारिक केन्द्र बनाउनेमा छ।

हाल महल, केशर पुस्तकालय सरकारको  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा छ। 

मन्त्रालयका एक अधिकारीका अनुसार तिनै पहुँचवालाले त्यहाँ गत वर्ष नै क्याफे, होटल, रेष्टुराँको व्यापारिक केन्द्र बनाउन खोजेका थिए तर विरोध हुने भएपछि बनाइएन। महल प्रबलीकरण काम मात्रै अगाडि बढाइयो।

‘ऐतिहासिक केशरमहलमा अहिले मात्रै होइन पहिला पनि व्यापारिक केन्द्र बनाउने तयारी रहेछ तर खै के कारणले बनेन, अहिले फेरि त्यस्तै चर्चा चलेको छ’, ती अधिकारीले भने।

उनका अनुसार महलको पुनर्निर्माण भइसकेपछि त्यहाँको संरचना के कसरी प्रयोग गर्ने भनी सुझाव दिन स्वप्न बगैंचा विकास समितिले कार्यदल गठन गरेको छ।

प्रतिवेदनको खाका तयार भएको छ। जसमा महलका केही कोठा र बाहिरी क्षेत्रको जग्गा व्यापारिक प्रयोजनको लागि प्रयोग गर्ने भनिएको ती अधिकारीले बताए।

तर कार्यदलका सदस्य युवराज सुवेदीले प्रतिवेदन मन्त्रालयमा नआएको बताए।

मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव समेत रहेका सुवेदीले भने,‘छलफलमा त जे कुरा पनि उठ्छ, त्यही छलफलमा व्यापारिक कुरो भएको होला, समितिले प्रतिवेदन पनि अझै नबनाएको सुनियो। त्यसैले प्रतिवेदन पनि आएको छैन।’

त्यस्ता प्रतिवेदनमा समेटिए पनि पछि फेरबदल गर्न सकिने उनको भनाइ छ। 

मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले त्यहाँ व्यापारिक केन्द्र बनाउन नमिल्ने र नदिने पनि बताए। ‘व्यापार व्यावसाय गर्ने भनेर हल्ला फैलिएको छ तर मन्त्रालयले त्यस्तो गर्न दिँदैन’, उनले भने।

उनका अनुसार अहिले पनि त्यहाँ मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखा राखिएको छ।

व्यापार चलाउन नदिन शिक्षामन्त्रीको निर्देशन

महल व्यापारिक प्रयोजनका लागि प्रयोग गरिने चर्चा चलेपछि शिक्षामन्त्री देवेन्द्र पौडेल आइतबार निरीक्षणका लागि त्यहीँ पुगे र  निजी क्षेत्रलाई चलाउन नदिने ढंगले काम गर्न निर्देशन दिए।

केशर पुस्तकालयका प्रमुख सुरेश यादवले भने, ‘बाहिर यहाँ व्यापार गर्ने भन्ने हल्ला आएपछि हिजो शिक्षामन्त्री नै यहाँ अनुगमन गर्न आउनु भयो। उहाँले संरचना बनेपछि कोही कसैलाई व्यापार गर्न नदिन निर्देशन दिनुभएको छ।’ उनका अनुसार केशरमहल ३४ रोपनी २ आना एक पैसा तीन दाममा फैलिएको छ।

‘ऐतिहासिक सम्पदामा व्यापार चलाउनु गलत’

केशरमहलमा मात्र नभई यसअघि पनि पहुँचवालाले ऐतिहासिक सम्पदा कब्जा गरिसकेका छन्। बतास समूहले नारायणहिटी संग्रहालयमा रेष्टुराँ बनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा संरचना भत्काइयो।

त्यही समूहले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल व्यवसाय चलाएको भन्दै सो सञ्चालनको सम्झौता रद्द गरिएको छ।

यसरी सम्पदामाथि व्यापारीले कब्जा गर्नु गलत भएको पुरातत्त्वविद् बताउँछन्। पुरातत्त्वविद् सुदर्शन तिवारी भन्छन्, ‘केशरमहलमा पुस्तकालय छ, केशर शम्शेरले विभिन्न देशबाट ल्याएका पुस्तक छन्, ऐतिहासिक पाण्डुलिपि छन्, त्यहाँ व्यापारिक केन्द्र बनाइयो भने ऐतिहासिक पुस्तकालय मासिन्छ। सार्वजनिक सम्पदा त्यसरी प्रयोगमा लान मिल्दैन।’

उनले बरु पुनर्निर्माणपछि ती महललाई सरकारले राष्ट्रिय संग्रहालयको रूपमा विकास गर्नुपर्ने बताए। ‘यस्ता सम्पदा अनधिकृत रूपमा व्यापारिक प्रयोजन गर्न दिनमा हात सरकारी कर्मचारीहरूकै छ। उनीहरूले सरकारबाट तलब पाइरहेका छन,किन होटल नै  खोल्नु ?,त्यस्तालाई कडा कारबाही गर्नुपर्छ,’ उनले भने।

म्याद सकियो, काम सकिएन

केशरमहल प्रबलीकरणको काम पनि ढिलाइ भएको छ।

प्रबलीकरणका लागि २०७६ साल माघ १३ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन र जेसिजिआई खानी जेभीबीच ठेक्का सम्झौता भएको थियो।

करबाहेक ५९ करोड ५० लाख ९८ हजार ७७ रुपैयाँमा २८ मंसिर २०७८ मा सम्पन्न गर्नुपर्ने थियो तरकाम सकिएन। हालसम्म ५८ प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर नरकान्त सापकोटाले बताए।

उनले भने,‘आगामी ६ महिनामा सबै काम सकेर हस्तान्तरण गर्ने लक्ष्य लिएका छौँ।’  

‘व्यापारिक केन्द्र बन्दैन’

वि.सं. १९५२ तिर वीर शमशेरद्वारा जित शमशेरका लागि बनाइएको दरबारलाई चन्द्रशमशेरले वि.स १९६५ सालमा किनेर छोरा केशर शमशेरलाई दिएपछि उक्त दरबारको नाम केशरमहल रहन गएको इतिहास भेटिन्छ।

केशरमहलभित्र अवस्थित स्वप्न बगैंचा पर्यटकीय केन्द्र तथा प्राकृतिक स‌ंग्रहालयका रूपमा पनि परिचित छ। 

लामो समय शिक्षा मन्त्रालय रहेको महलमा पहिलेदेखि नै केशर पुस्तकालय पनि रहँदै आएको छ। विश्व भ्रमण गर्ने पहिलो नेपाली केशर शमशेरले यो निजी पुस्तकालयका रूपमा स्थापना गरेका हुन्। केशर शमशेरले पछि आफ्नो निजी पुस्तकालय सरकारलाई दान दिए। 

वि.स २०२६ देखि यो केशर पुस्तकालयको नाउँमा सञ्चालन हुँदै आएको हो। सञ्चार प्रविधिको पहुँच नभएका वेला राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, त्रिवि पुस्तकालय, भारत‚ बेलायत र अमेरिकी दूतावासले चलाएका पुस्तकालय गरी ६ वटा पुस्तकालय नै राजधानीमा अध्येताका लागि उपलब्ध थिए। 

केशर पुस्तकालयका प्रमुख यादवका अनुसार त्यहाँ अहिले ५८ हजार ऐतिहासिक पुस्तक छन्। पुराना र ऐतिहासिक पुस्तक यो पुस्तकालयमा भेटिन्छन्। करिब ७ सय हस्तलिखित पुस्तक समेत रहेको उनी बताउँछन्। 

केशरमहल भूकम्पपछि अहिले रेट्रोफिटिङको काम भइरहेकाले टहरा बनाई ती पुस्तक सुरक्षित राखिएको छ। भवन बनेपछि त्यहाँ सारिनेछ। पुस्तकालयका प्रमुख यादव व्यापारिक केन्द्र नबनाइने दाबी गर्छन्।

‘यो ऐतिहासिक ठाउँ हो, यहाँ पुरातात्त्विक अभिलेखहरू राखिन्छ, मन्त्रालय हाल सिंहदरबार परिसरमा सरे पनि जनसम्पर्कका लागि सहज हुने शाखाहरू राख्ने योजना छ'‚ उनले भने। यसको अर्को पाटोमा रहेको स्वप्न वाटिका निजी क्षेत्रलाई लिजमा रेष्टुराँ चलाउन दिइसकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.