|

हेटौंडा : बागमती प्रदेशसभा स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रदेशसभाका सभामुख र सत्तापक्ष–प्रतिपक्षबीच जुहारी चलेको छ। 

प्रदेशसभा सचिवालयद्वारा सोमबार आयोजित चौथो वार्षिकोत्सवमा सभामुख सानुकुमार श्रेष्ठ,मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यबीच जुहारी चलेको हो।

प्रदेशसभा स्थापना भएको ४ वर्ष पूरा भएको अवसरमा शुभकामना दिने क्रममा उनीहरुले एक अर्कालाई काउण्टर गरेका हुन्। शुभकामना मन्तव्य दिँदै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेकी एमाले संसदीय दलकी नेतृ शाक्यले वर्तमान सरकार संसदको मर्यादा विपरीत काम गर्न अग्रसर रहेको टिप्पणी गरिन्।

बागमती प्रदेश सरकारले धान्नै नसक्नेगरी मन्त्रिमण्डल विस्तार गरेको भन्दै शाक्यले भनिन् ‘बागमती प्रदेश सरकारले संसदीय भूमिकाबाट जनमुखी काम गर्नुपर्नेमा धान्नै नसक्नेगरि मन्त्रिमण्डल बनाउने र महत्वपुर्ण योजना कटौती गर्ने काम गरेको छ। यस्तो कुरा संसदीय अभ्यासमा सुहाउँदैन।’

उनले एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको योजनालाई सरकारले आफ्नो ढंगले कटौती गर्दै गएको भन्दै वर्तमान सरकार लोकतन्त्र विरोधी र अमर्यादित बन्दै गएको आरोप लगाइन्।

‘अघिल्लो सरकारले ल्याएको गौरवको आयोजना अहिलेको सरकारले अटौती गरिरहेको छ भन्ने सुनेको छु’,उनले भनिन् ‘लोकतन्त्रमा विश्वास गर्नेहरुले छलफल,विचार विमर्श र हार्दिकतालाई बिर्सेर एकल ढंगले योजना कटौती गर्न हुँदैन। यस्तो काम गरेर सरकार अमर्यादित बन्दैछ। ’

उनले वर्तमान सरकार संसदलाई व्यवस्थित ढंगले चलाउन असफल रहेको भन्दै संसदलाई व्यवस्थित र मर्यादित बनाउन आग्रह गरिन्। 

शाक्यपछि मन्तव्य दिन उठेका मुख्यमन्त्री पाण्डेले आक्रोशित बन्दै करिब आधा घण्टा लामो भाषण गरेका छन्। लामो समय केन्द्रीय संसदमा राजनीति गरेर आएको भन्दै मुख्यमन्त्री पाण्डेले आफूलाई संसदीय मर्यादा र संस्कार नसिकाउन शाक्यलाई आग्रह गरे।

‘म लामो समय केन्द्रीय संसदमा काम गरेर अनुभव बटुलेर आएको मान्छे हो। मलाई संस्कार र मर्यादा सिकाइरहनु पर्दैन। संसदमा प्रश्न गरेर जवाफ नसुनी भाग्ने संस्कार तपाईँहरुले कहाँबाट ल्याउनुभयो त्यो भन्नुस्?’उनले प्रश्न गरे।

शाक्यले योजना कटौती गरेको भनेर दिएको अभिव्यक्तिमा आक्रोशित हुँदै उनले थपे ‘प्रमुख प्रतिपक्षी दलको नेताले अध्ययन गरेर बुझेर मात्रै बोल्नुपर्छ। अरुको लहडमा लागेर गलत कुराको प्रचार गर्न हुँदैन,हामीले अहिलेसम्म कुनै योजना कटौती गरेका छैनौ।’

मुख्यमन्त्री पाण्डेले अहिलेसम्म आफू नेतृत्वको सरकारले एमालेले ल्याएको योजना र बजेट कटौती नगरेको भन्दै गलत कुराको प्रचार गरे गम्भीर दुर्घटना हुन सक्ने चेतावनी समेत दिए।

बागमती प्रदेशको सडक स्तरोन्नती र चार्जिङ स्टेशन निर्माण नभएसम्म विद्युतीय बस नआउने समेत उनले दाबी गरे। शाक्यलाई लक्षित गर्दै उनले भने ‘कुनै दिन उहाँलाई नेता बनाएर मुख्यमन्त्री बनाउनुपर्छ भनेर हामी हिँडेका हौं। अविश्वासको प्रस्ताव पनि दर्ता गरेको हो। पद भनेको आउने जाने भइरहन्छ तर यसरी हचुवाको भरमा बोल्ने हो भने हामीबीचको सम्बन्ध राम्रो हुँदैन।’

सभामुख दलको कार्यकर्ताजस्तो : मुख्यमन्त्री पाण्डे

कार्यक्रमको समयावधि भर आक्रोशित मुद्रामा प्रस्तुत भएका मुख्यमन्त्री पाण्डेले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको भूमिका एउटा राजनीतिक दलको कार्यकर्ता जस्तो बनेको टिप्पणी गरेका छन्।

नेपालको पहिलो सभामुख दमननाथ ढुङ्गानासँग समेत आफूले संसदमा सँगै बस्ने मौका पाएको भन्दै सभामुख श्रेष्ठलाई ढुंगाना जसरी संसद चलाउन समेत उनले आग्रह गरे।

बागमती प्रदेशको सभामुखले सबै दललाई मिलाएर प्रभावकारी ढंगले सदनको काम कारबाही गर्नुपर्नेमा एमालेको कार्यकर्ता जस्तो बनेको उनको आरोप थियो। मंगलबार आयोजित प्रदेशसभाको वार्षिकोत्सवमा सरकारको सबै मन्त्री,दलका नेता र सांसदहरुलाई नबोलाएको भन्दै मुख्यमन्त्री पाण्डेले आक्रोश पोखे।

उनले भने ‘हिजो मेरै अगाडि एउटा दलको साथीले सभामुखलाई फोन गरेर तपाईले हामीलाई राम्रो व्यवहार गर्नु भएन। एउटा दलको कार्यकर्ता बन्नुभयो,हामी कार्यक्रममा आउँदैनौ भन्दा उहाँले मिलाएर सबैलाई सहभागी गराउनुपर्नेमा हुन्छ भन्नुभयो। सभामुखले सदनलाई मिलाएर लैजान सक्नुभएन।’ जस्तोसुकै अवस्थामा पनि सबै दललाई एउटै नजरले हेरेर सदनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ। 

अहंकारले शान्ति आउँदैन : सभामुख

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अहंकार नत्यागेसम्म अगाडि बढ्न नसक्ने भन्दै प्रदेशको मुख्यमन्त्री पाण्डेलाई काउण्टर गरेका छन्।

प्रदेशसभाको वार्षिकोत्सवको समापन समारोहमा बोल्दै सभामुख श्रेष्ठले भने ‘शान्ति सहकार्य र सह-अस्तित्वले आउँछ। अहंकारले मान्छेलाई अगाडि बढ्न दिँदैन। त्यसैले अहंकार भावना त्याग्नुपर्छ।’

उनले अप्रत्यक्ष रुपमा मुख्यमन्त्रीलाई लक्षित गर्दै स्थानीय तहको निर्वाचन र एमसीसीको विषयमा असमझदारी बढ्दै गएको भन्दै अहंकार नदेखाउन आग्रह गरे। उनले आफूबाट भएको गल्ती र कमी कमजोरी सच्याउन  तयार रहेको भन्दै मुख्यमन्त्री पाण्डेलाई आफ्नो कमजोरी सच्याउन समेत चुनौती दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.