|
तस्वीर : टेकसिंह धामी

धनगढी : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बुधबार एमालेनिकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा झडप भएको हो। 

उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो। अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ।

प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गर्न खोजेपछि झडप भएको अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले बताए।

उक्त झडपमा वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरीप्रसाद जैशी घाइते भएका छन्। ​जैशीको अवस्था सामान्य रहेको र आराम गरिरहेको प्रहरीले जनाएको छ।

घाइते जैशीलाई उपचारका लागि सेती अस्पतालमा लगिएको थियो तर, अहिले अस्पतालबाट कार्यालयमै गएर आराम गरिरहेका छन्।

विरोध प्रदर्शनका क्रममा आक्रोशित भीड र प्रहरीबीच झडप भएको हो। झडपमा प्रहरीले बल प्रयोग गरेपछि केहीवेर तनाव सिर्जना भएको थियो।

अनेरास्ववियू र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्।

नेपाल आयल निगमले पेट्रोलमा मंगलबार मध्यरातमा लागू हुने गरी प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको जनाएको छ।

योसँगै अब पेट्रोल प्रतिलिटर १ सय ४२ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय २५ कायम भएको छ।

आजै अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशभरि आन्दोलन गर्ने भन्दै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

एक विज्ञप्ति जारी गर्दै प्रदेशका सबै जिल्लामा आन्दोलन गर्ने अनेरास्ववियू सुदूरपश्चिमले जनाएको हो।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, भ्रष्टाचारलगायत सवालमा अनेरास्ववियूले आन्दोलन गर्ने भएको हो। 

विज्ञप्तिमा प्रदेशका सबै जिल्लामा १९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने, २० गते सबै जिल्लाका प्रशासन कार्यालय अगाडि धर्ना दिने तथा ज्ञापनपत्र बुझाउने, २१ गते प्रदेशभरका सरकारी सवारीसाधन चल्न नदिने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.