सञ्चार उद्यमीदेखि नेताका नातेदारसम्म संलग्न

|

हेटौंडा : नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग खोल्न जग्गा खोज्दै दैनिक २-३ जना पुग्छन्। तर, उद्योग खोल्ने जग्गा नभएको भन्दै उनीहरू रित्तो हात फर्किन्छन्।  

नयाँ उद्योग खोल्ने योजना बोकेर औद्योगिक क्षेत्र  पुगेकाहरू जग्गा अभावमा रित्तो हात फर्किरहँदा वर्षौंदेखि २ सय ६६ रोपनी जग्गा विभिन्न उद्योगले ओगटेर राखिएको पाइएको छ।

औद्योगिक क्षेत्रको २ सय ६६ रोपनी जग्गामा ती उद्योगहरूले न उद्योग चलाएका छन् न त अन्य उद्योग खोल्नको लागि बाटो खुल्ला नै गरिदिएका छन्।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार ९ वटा उद्योगले त्यहाँको जग्गा वर्षौंदेखि कब्जा गरिराखेका छन्। उद्योग सञ्चालन गर्नका लागि भनेर लिमिटेडसँग सम्झौता गरेका उनीहरूमध्ये केही उद्योगको भौतिक संरचना नै बनेको छैन।

केहीले संरचना मात्रै बनाएर छोडेका छन् त केहीको उद्योग विभिन्न कारणले बन्द अवस्थामा छ। उनीहरूलाई उद्योग सञ्चालन नगर्ने भए जग्गा खाली गरिदिन लिमिटेडले आग्रह गर्दै आएको भए पनि विभिन्न बहानाबाजीमा उनीहरूले जग्गा खाली गर्नुको साटो कब्जा गरेर बसेका छन्।

२ सय ४० बिघा क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रको जग्गा ओगटेर उद्योग सञ्चालन नगर्नेमा ठूला व्यवसायीदेखि राजनीतिक दलको नेतासमेत रहेका छन्। यसरी औद्योगिक क्षेत्रको सबैभन्दा धेरै जग्गा ओगटेर उद्योग सञ्चालन नगर्नेको पहिलो नम्बरमा साउथ एसियन ब्रुअरी रहेको छ। यस उद्योगले औद्योगिक क्षेत्रको १ सय ५ रोपनी जग्गा ओगटेको छ।

२०७३ साल माघदेखि सो उद्योगले औद्योगिक क्षेत्रको जग्गामा उद्योग सञ्चालन नगरीकनै कब्जा गरिराखेको हो। नियमानुसार जग्गा सम्झौता गरेको दुई वर्षभित्र उद्योग स्थापना गरिसक्नु पर्ने हुन्छ।

दुई वर्षमा उद्योग सञ्चालन नगरे औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई जग्गा फिर्ता गर्नुपर्छ। तर,यस उद्योगले सम्झौता गरेको ५ वर्ष भइसक्दा पनि औद्योगिक क्षेत्रको जग्गामा उद्योग सञ्चालन गर्नु त परको कुरा उद्योग  सञ्चालन गर्न भौतिक संरचनासमेत बनाएका छैनन्।

उद्योगका सञ्चालक चितवनका गोकुल भण्डारी रहेका छन्। उनी आफूलाई नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाञ्जाभएको बताउछन्। प्रचण्डको भाञ्जा भएको बताएर उनले लिमिटेडले जग्गा खाली गर्न आग्रह गर्दा पहुँचको आधारमा जग्गा कब्जा गरिरहेका छन्। उद्योग सञ्चालनको लागि इजाजत पत्र नवीकरण नभएको भन्दै जग्गा कब्जा गरिरहेका उनले जग्गाको भाडा भने नियमित तिर्दै आएका छन्।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको व्यवस्थापक राजेन्द्र कँडेलका अनुसार सो जग्गामा मल कारखाना स्थापनाको लागि बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसहिको टोलीले अवलोकनसमेत गरेको थियो।

केही साताअघि मुख्यमन्त्री पाण्डेले मल कारखाना स्थापनाका लागि आएको थाइल्याण्डको एक निजी कम्पनीसहितको टोलीसँग पुगेर अवलोकन गरेका हुन्।

मल कारखानाका लागि थाई कम्पनीले करिब २ सय बिघा जग्गा खाजेपछि उनीहरूले भनेजस्तो जग्गा नभएको भन्दै फर्किएका थिए। व्यवस्थापक कँडेलका अनुसार प्रदेश सरकारले स्थापना गर्ने भनेको कृषि औजार कारखाना स्थापनाको लागिसमेत जग्गा खोजी भइरहेको छ। 

त्यस्तैगरी, क्वालिटी ह्याचरी एण्ड फिड इन्डष्ट्रिजले पनि औद्योगिक क्षेत्रको ३४ रोपनी जग्गा २०६४ सालदेखि कब्जा गरिराखेको छ। यसमा व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा र उनका व्यावसायिक साझेदार नेकपा एमाले दैलेखका उपाध्यक्ष तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुका पूर्व-महाप्रबन्धक नन्दकिशोर बस्नेतले उद्योग सञ्चालनको नाममा वर्षौंदेखि जग्गा आफ्नो कब्जामा राखेको बताइएको छ। यस सम्बन्धमा बुझ्न क्याप्टेन थापा लगायतलाई सम्पर्क गर्न पटकपटक कोशिस गर्दा स्विच अफ र अर्कोमा सम्पर्क हुन सकेन। 

उनीहरूले उद्योग खोल्ने भन्दै औद्योगिक क्षेत्रको दक्षिणतर्फ जंगल क्षेत्रको जग्गा भाडामा लिएका थिए। डिभिजन वन कार्यालय मकवानपुरले यसअघि वन क्षेत्रका रूख कटान गर्न रोक लगाएपछि उद्योगको संरचना बनेको थिएन।

१४ वर्षसम्म पनि जग्गा सम्झौता गरेर उद्योग खोल्ने नसकेको उनीहरूलाई जग्गा फिर्ता गर्न लिमिटेडले माग गर्दै आएको छ।

लिमिटेडका अनुसार वनस्पति घिउ उत्पादक कम्पनीले पनि २०६७ देखादेखी उद्योग सञ्चालन गर्न नसके पनि जग्गा ओगटिरहेको छ। लामो समय औद्योगिक क्षेत्रमा सञ्चालन भएको वनस्पति घिउ उत्पादक कम्पनी ६७ सालदेखि भने पूर्णरूपमा बन्द छ।

वर्तमान समयमा सो उद्योग पुनः सञ्चालनमा आउन सक्ने सम्भावना पनि छैन। तर,पनि उद्योगले ११ वर्षदेखि औद्योगिक क्षेत्रको ६९ रोपनी जग्गा कब्जा गरिराखेको छ। लिमिटेडले दिएको जानकारीअनुसार बानियाँ मल्टिप्रोडक्टले पनि २ वर्षदेखि २३  रोपनी जग्गा कब्जा गरिराखेको छ।

त्यस्तैगरी, भुरियामाई काष्ठ उद्योगले ४ रोपनी, हिमालयन पोलिमर्सले ७ रोपनी, गंगा शोपले १५ रोपनी, निमोपार्केटले १८ रोपनी र दामु चन्द माला काष्ठ उद्योगले ३ रोपनी जग्गा वर्षौँदेखि उद्योग सञ्चालन नगरे पनि आफ्नो कब्जामा राख्दै आएको छ। 

जग्गा खाली गर्न ३५ दिने सार्वजनिक सूचना

वर्षौंदेखि औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्ने २ वटा उद्योगलाई जग्गा खाली गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ३५ दिने सूचना जारी गरेको छ।

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै लिमिटेडले क्वालिटी ह्याचरी एण्ड फिड इन्डष्ट्री र साउथ एशिएन ब्रुअरीलाई उद्योग सञ्चालन गर्न वा जग्गा खाली गर्न ३५ दिनको समय दिएको हो।

लिमिटेडका व्यवस्थापक कँडेलका अनुसार ३५ दिनभित्र उद्योग सञ्चालन गर्ने आधार लिएर नआएमा लिमिटेडले जग्गा आफ्नो कब्जामा गर्नेछ। ‘३५ दिनभित्रमा उहाँहरूले उद्योग सञ्चालन गर्ने आधार वा जग्गा फिर्ता गर्न आउनुभएन भने हामी हाम्रो जग्गा कब्जा गर्छौं’,उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.